काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको बताउनुभएको छ ।
प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले दिएको संख्यालाई प्रचण्डले गलत प्रयोग गरेर आफैंलाई हटाउन खोजेको र नसकेपछि अलगिएको बताउनुभयो ।
ओलीले प्रचण्डलाई आफुले अँगालो हालेर अध्यक्ष बनाए पनि उल्टै छुरा धसेर हिडेको बताउनुभयो । ‘जस्लाई मैले अँगालो हालेर अध्यक्ष बनाए, मेरै छेउमा राखे उल्टै मलाई नै ग्वाम्मै छुरा पो घोपे ।’ ओलीको भनाई थियो । ओलीले गलत व्यक्तिलाई विश्वास गरेर पार्टी एकता गरेको रहेछु भनेर अहिले आफुअचम्ममा परेको बताउनुभयो । ‘मैले दिएको बहुमत म विरुद्ध नै प्रयोग गर्न खोज्ने । म भन्दै थिएँ, पर्खिनुस् महाधिवेशनबाट अध्यक्ष बनाउँछु । तर, उनी त मसँग बहुमत पुगिसक्यो भनेर मलाइ नै निकाल्न पो तम्सिएछन्’ ओलीले भन्नुभयो ।
ओलीले अदालतले पार्टीको नाममात्र जुध्यो भनेको भन्दै नेकपा विभाजन नभएको दावी गर्नुभयो । अध्यक्ष ओलीले माओवादी पार्टी अब नरहेको भन्दै प्रचण्डको नेतृत्वमा सानो केन्द्रमात्र बाँकी रहेको बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गर्नुभएको थियो। उहाँहरुलाई पार्टी प्रवेश गराउन एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य जेएन थपलिया, देवी ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।
परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुनुहुन्छ । जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो । याेसँगै अब चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रुपमा हेरिएकाे छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
