काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चलचित्र महापुरुष हेर्ने लागेको बताउनुभएको छ ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य अभिनय रहेको चलचित्र ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटिकाको भोलिपल्ट प्रदर्शन हुँदै छ ।
पूर्व प्रधानमन्त्री ओलीले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुन्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि गर्नुभएको छ । “मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु”, अध्यक्ष ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ।
हालै आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको थियो ।मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक गरिएको ट्रेलरमा एकल बुवाले बुढेसकालमा दोस्रो विवाह गर्दा आउने उतारचढावलाई देखाइएकाे छ। फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रुपमा प्रस्तुत गरिएको छ।
सामाजिक विषयवस्तुमा आधारित फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा कथा लेखन प्रदीपकै हो।
कात्तिक ११ प्रदर्शनमा आउने फिल्ममा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायत कलाकारको अभिनय छ।
यसै फिल्मबाट अरुण क्षेत्री र अन्जना बराइली डेब्यु गर्दैछन्। अरुणले फिल्ममा हरिवंशको छोराको भूमिका निर्वाह गरेका छन् भने अन्जनाले मदनकृष्णकाे छाेरीकाे भूमिका निर्वाह गरेकी छन्।
दीपक बज्राचार्यले खिचेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
