काठमाडौँ । प्रतिनिधिसभामा बागलुङ १ का उम्मेदवार डा.सूर्य पाठक चुनावी प्रचार प्रसारमा व्यस्त हुनुभएकाे छ । उहाँ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा हुनुहुन्छछ । पाठकले घरदैलोदेखि छलफल र अन्तरक्रिया गर्दै आउनुभएकाे छ । भने प्रवासी नेपालीसँग समेत अन्तरक्रियामा सहभागी भएर आफ्नो पक्षमा सकारात्मक माहोल तयार गर्नुभएकाे छ ।

आइतवार एक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले पहिलोपटक सांसद भएपछि बाग्लुङको सडक, खानेपानी, सिंचाइ र स्वास्थ्यचौकी भवन निर्माणमा प्राथामिकता दिएको बताउनुभयाे । उहाँले विकासको पूर्वाधारको लागि कनेक्टिभिटी महत्वपूर्ण रहेको बताउनुभयाे । यद्यपि केही काम पूरा गर्न नसकिएको भन्दै पाठकले दोस्रोपटक निर्वाचित भएर ती अधुरा कार्य पूरा गर्ने बताउनुभयाे । मध्यपहाडी राजमार्गको फोटो राखेर गिज्याउन खोज्नेहरुप्रति इंगित गर्दै उहाँले भन्नुभयाे, ‘मैले मध्यपहाडी लोकमार्गको पिच समयसीमाभित्र सक्नुपर्छ भनेर पटक पटक संसदमा बोलेको छु । जिल्लामा सिडियोलगायत सरोकारहरुसँग पटकपटक वार्ता गरेको छु । तर प्रोजेक्ट म्यानेजर र ठेक्दारको मिलोमोतोका कारणले सो राजमार्ग अलपत्र पार्ने काम भयो ।’

पाठकले लापरवाही गर्ने ठकेदारमाथि कारवाही गर्न प्रयास गरिए पनि कानूनबाधक भएको जिकिर गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘ठेक्का नै रद्द गरेर नयाँ ठेक्का दिएर सडक पिच गर्न सिफारिस गरिएको थियो । तर कानुनले प्रोजेक्ट म्यानेजरको सिफारिसबिना उक्त ठेक्का रद्द गर्न नमिल्ने भएका कारणले हामीले ठेकेदार कम्पनीलाई कारवाही गर्न सकेनौं, अब राज्यभन्दा पनि ठेकेदारहरु बलिया भएका हुन् कि भन्ने प्रश्न उठेको छ ।’ उहाँले आफूसँग निर्वाचन क्षेत्रमा प्रत्यासी रहेका ८० वर्षीय चित्रबहादुर केसी दुईपटक सांसद र उपप्रधानमन्त्री हुँदा जिल्लाको विकासमा के कस्तो काम गरे भनेर प्रश्न गर्नसमेत मतदातालाई आग्रह गर्नुभयाे।

पाठकले प्रतिनिधि सभाको सदस्यका रुपमा आफूले कानून निमार्णमा केन्द्रीत हुनुपर्ने भएका कारणले संसदलाई केन्द्रबिन्दु बनाए विगत पाँच वर्ष सक्रिय भूमिका खेलेको दाबी गर्नुभयाे। उहाँले गैरआवासीय नेपालीहरुका हक र अधिकारहरुका नागरिकताको निरन्तरता, मताधिकार, पिएनओलगायतका मुद्दा संसदमा बुलन्द पारेको बताउनुभयाे । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याइनुपर्ने पनि उहाँको भनाइ थियो ।