• सोमवार, अशोज १९, २०८३
  • Monday 5th October 2026

महापुरुष हेरेपछि…


  • खुला नेपाल
  • शनिबार, कार्तिक १२, २०७९
  • 11.9K
    SHARES

काठमाडौँ । नेपाली फिल्म हलमा गएर हेरेको अनुभव म सँग खासै छैन । यो पटक भने महापुरुषले कता कता हलतिर डोर्यायो । फिल्म लागेकै दिन शुक्रबार हलतिर गइयो । पुरै हेरिसकेपछि नेपाली समाजको वास्तविक तस्वीरलाई यति राम्ररी पस्किने गरी फिल्म बनेका रहेछन् भन्ने लाग्यो । हेर्दै नहेरी प्वाक्क टिप्पणी गर्ने, फिल्म हेर्नै नजाने कतिपय प्रवृत्तिलाई पछुतो पार्ने गरी महापुरुष बनेको पाएँ ।

प्रदीप भट्टराईको लेखन, निर्देशन रहेको यो फिल्मले मूल रुपमा उमेर ढल्कदै गएपछि बा, आमालाई छोरा, छोरीलाई गर्नुपर्ने व्यवहार, थप्नुपर्ने खुशी, एकल जीवनको बाध्यत्मक अवस्था र परिवारले बुझ्नुपर्ने कुराबारे धेरै कुरा सिकाएको छ । महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य द्धारा अभिनित यो फिल्म एकल बाको कथा हो । मध्यमवर्गीय एकल बाको जीवन, बाको बिहे, बाको भावना, बाको सँघर्ष, बाको त्यागमा आधारित छ । फिल्मले भरपूर मनोरञ्जन पनि पस्केको छ । यो फिल्म हेर्दा हरेकले आफ्नै बालाई एक पटक होइन, पटक पटक अवश्य नै सम्झाउनेछ ।
बाको भूमिकामा रहेका हरिबंश आचार्यको अभिनय वरिपरि नै फिल्म घुमेको छ । यो फिल्म कतै हरिबंश आचार्यको आफ्नै जीवनको कथा त होइन रु कतिपयलाई लाग्न सक्छ । यसबारे निर्देशक भट्टराई र आचार्य स्वयंले पनि मिडियामा बोलिसकेका छन् । आचार्यको जीवनका केही पाटा मिलेपनि आम एकल मानिसको जीवनका वास्तविक पाटा फिल्ममा देखिएको छ ।

महापुरुषमा महजोडी अलवा कलाकार गौरि मल्ल, राजाराम पौडेल,सिरु बिष्ट, रबिन्द्र सिंह बानियाँ तथा नयाँ कलाकार अरुण क्षेत्री, अन्जना बराइलि लगायतको अभिनय छ । निर्माता भने रविन्द्र सिँह बानियाँ हुन् ।

अहिले बेरोजगारीले गर्दा युवाहरु बिदेशीनु पर्ने बाध्यात्मक परिस्थिति छ । बिशेष गरि अहिले युवाहरुको आकर्षणको केन्द्र बनेको अस्ट्रेलिया हो । त्यहाँ जानको लागि मनिसले कसैको भावना सग खेल्छ त कोहि नक्कली श्रीमान, श्रीमती बनेर जान्छन् । भित्री मनमा त बालाई छोरा आफ्नै घर बसोस् भन्ने हुन्छ, तर सन्तानको खुशीको लागि भन्न सक्दैन । देखावटी खुशी प्रदर्शन गर्दै विदेश पठाउनैतिर बा लागेको हुन्छ । छोरोले एकल बाको अवस्था बुझेर म स्वदेशमै बस्छु भनेर कतिले भन्लान रु त्यस्ता उदाहरण कमै पाइन्छन् ।

उमेर बढे सगै एक्लो जीवन जिउन जतिनै कोसिस गरे पनि आफ्नो ख्याल राख्न नसकिने रहेछ, आफ्नो खयाल राख्न कोही न कोही चाहिदो रहेछ भन्ने पनि यो चलचित्रमा देखिन्छ । छोरा छोरीले बा आमाको भावना नबुझिदिँदा निकै कठिन परिस्थिति निम्ताउने विभिन्न प्रसंग फिल्ममा देखिन्छ । आफ्नो मनको चाहानालाई पूरा गर्न नदिने बाधक तत्वको रुपमा रहेको हाम्रो समाज रहेको र त्यसमा सुधार हुनुपर्नेतर्फ फिल्मले बहस छेडेको छ ।

भावनात्मक रुपमा सिनेमाले दर्शकलाई कताकता च्वास्स छोइरहन्छ । झनै उमेर हुँदासम्म बच्चाका लागि सबथोक खर्चिएर बुढेसकालमा तिनै सन्तानले वृद्धाश्रम पु¥याएकाहरुले सिनेमा हेरे कस्तो भावनात्मक उछाल आउँदो हो रु बुढा बाआमालाई चिसो सिमेन्टको चिसो ओतमा राखेर युरोप अमेरिका पुगेकाहरुले सिनेमा हेरे सबैभन्दा पहिला कसलाई सम्झँदो हो रु भावनात्मक कोणबाट सिनेमाले दर्शकलाई छुन्छ । बाआमाको त्यागलाई सम्झाइदिन्छ । भक्कानो छाडिदिन्छ । रुवाइनै दिन्छ ।

सिनेमामा कथित आदर्शका निम्ति छोराहरुले आफ्नो पितालाई बन्धक जस्तै बनाउँछन्, बुवाको खुशी खोस्छन्, बुवाको मुस्कान खोस्छन् र अस्पतालको बेडसम्म पु¥याउँछन् । तर, शिक्षित छन् दुवै छोरा । त्यस्ता सन्तान त्यति निर्दयी र कठोर बन्न सक्छन् रु दर्शकको मनमा प्रश्न उब्जन सक्छ । सायद, त्यति गएगुज्रिसकेको छैन कि नेपाली समाज ।

एकल बुवाको कथालाई मिहीन ढंगले सिनेमामा उतार्न निर्देशक भट्टराई सफल भएका छन् । सिनेमामा नवअभिनेता अरुण क्षेत्रीले आफूलाई पछि पनि अब्बल सावित गर्ने लक्षण देखाएका छन् । नवअभिनेत्री अन्जना बराइलीको अभिनय पनि राम्रो छ । हरिवंश र मदनकृष्ण श्रेष्ठ आफ्नो भूमिका सफल देखिएका छन् । जेठो छोरोको भूमिकामा रवीन्द्रसिंह बानियाँ गज्जब रहनुभएको छ । गौरी मल्लको अभिनय सदाबहार सुन्दर छ । समग्रमा ‘महापुरुष’ परिवारसहित बसेर हेर्नलायक एक नेपाली सिनेमा बनेको छ ।

प्रतिक्रिया