• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

हिमपातले सेताम्य रारा ताल क्षेत्र


  • खुला नेपाल
  • सोमवार, माघ १६, २०७९
  • 2.9K
    SHARES

काठमाडौँ । गत मङ्गलवार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । रारा ताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । चिसोको प्रवाह नगरी रारा जाने क्रम जारी छ । रारा वरपर दुई फिटसम्म हिउँ जमेको छ । यस वरिपरिका रुखर बिरुवाहरू हिउँले फुलेका छन् ।

रारा क्षेत्र वरपर जताततै सेताम्य देखिन्छ । भारी हिमपात भएपछि तालको छेउमा सेतो सिरक राखेजस्तै देखिन्छ । राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटकसम्म आफ्नो रूप बदल्दा सेतो हिउँले यसमा झनै आकर्षण थपेको छ ।

जाडो समयमा रारा हेर्न आएका आन्तरिक पर्यटक राम शाहले राराको यस सिजनको दृश्य भाग्यमानीलाई मात्र हेर्न अवसर जुर्ने प्रतिक्रिया दिनुभयो ।

मुर्मा टपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाइ छ ।

रारा क्षेत्रफलका पाँच किलोमिटर लम्बाइ, करिब तीन किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ ।रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतो र तीन सय प्रजातिका चरा पाइन्छन् ।

कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि  रारा क्षेत्र महत्त्वपूर्ण मानिँदै आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया