• शनिबार, साउन १६, २०८३
  • Saturday 1st August 2026

समृद्ध उमाकृण्ड बनाउन जलविद्युत आयोजनाको दादागिरी बाधक : शेरबहादुर सुनुवार


  • खुला नेपाल
  • शुक्रबार, फाल्गुन १९, २०७९
  • 1.5K
    SHARES

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाको मिचाहा प्रवृत्तिको कारण स्थानीय सरकार र नागरिक हैरान भएका छन् । भारतीय लगानीकर्ताको बाहुल्यता रहेको रामेछाप र सोलु तथा ओखलढुंगाको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका निर्माण कम्पनीले स्थानीय माथि ज्याजति गरेका छन् । सडक विस्तारको नाममा जथाभाबी सडक भत्काउने, पोलको लागि व्यक्तिको निजी सम्पत्तिमा क्षति पुग्ने गरी खाडल खन्ने र बाटो बनाउने काम गर्दा स्थानीयको उठिबास लागेको छ ।

यसै गरी अत्यधिक भार बोकेका सवारी साधन चलाएर बाटो बिगार्ने निर्माण कम्पनीले सडक मर्मतको काम नगर्दा स्थानीय ग्रमिण सडकहरू ध्वस्त भएका छन् । स्थानीय सरकारको ठुलो रकम ती सडक मर्मतमा खर्च हुने गरेको छ ।

जलविद्युत आयोजना निर्माण कम्पनीको दादागिरी सहन नसकेर गाउँपालिकाले पत्रकार सम्मेलन नै आयोजना गरेको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले समृद्ध उमाकृण्ड र सुखी उमाकुण्डबासी बनाउन जलविद्युत आयोजनाको दादागिरी बाधक बनेको बताउनुभयो । जलविद्युत आयोजना निर्माण कम्पनी स्थानीय सरकारलाई मिचेर अघि बढेको सुनुवारले बताउनुभयो । ‘केन्द्र सरकारका मन्त्रीहरू र स्थानीय प्रशासकसँग के के कुरा मिलाउँछन्, हाम्रो कुनै कुराको सुनुवाइ हुँदैन, स्थानीय सरकार र नागरिकलाई पेलेर अघि बढ्ने काम भएको छ’, सुनुवारले भन्नुभयो ।

आयोजना निर्माण कम्पनीले स्थानीयलाई उचित क्षतिपूर्ति नदिने मात्र होइन, सामाजिक उत्तरदायित्वको काम समेत नगरेको उहाँले बताउनुभयो । ‘सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत के के काम गर्‍यौँ, कहाँ कहाँ कति रकम खर्च भएको छ, सार्वजनिक सुनुवाइ गर भन्दा समेत हाम्रो सुरक्षाको कारण त्यो गर्न सकिँदैन भन्छन्, स्थानीय सरकारले बोलाउँदा आउँदैनन्’, सुनुवारले भन्नुभयो ।

एक हप्ता अघि एम भी दुगड् हाइड्रो पावर कम्पनीमा काम गर्ने एक सवारी चालकको उपचार नै नगरेर ज्यान गएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । बिरामीलाई उपचार गर्न नजिकैको अस्पतालसम्म नपुर्‍याएर लापरबाही गरिएको उहाँले बताउनुभयो । यस्ता घटना बारम्बार भएको अध्यक्ष सुनुवारको भनाइ छ ।

जलविद्युत आयोजना निर्माण कम्पनीले स्थानीय प्रशासन र सर्वदलीय सहमतिका आधारमा गरेको लिखित प्रतिबद्धता समेत पुरा नगरेका सुनुवारले बताउनुभयो । उनीहरूले आफ्नो लाभ हुने बाहेक अन्य कुनै काम नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखु नदीमा निर्माणाधीन र निर्माण सम्पन्न भएका गरी नौ वटा जलविद्युत आयोजना छन् । ती आयोजना कुनैले पनि प्रतिबद्धता अनुसार सामाजिक उत्तरदायित्वका काम नगरेको उहाँले बताउनुभयो । ‘यस्तो खालको रवैया हामी सहँदैनौँ, यसका विरुद्ध अब अभियान सञ्चालन गर्छौँ’, सुनुवारले भन्नुभयो ।

लिखु खोलामा ५७ दशमलव ५ मेगावाट क्षमताको नुप्चे जलविद्युत् आयोजना, ७७ मेगावाटको लिखु–१ जलविद्युत् आयोजना र ५५ मेगावाटको लिखु–२ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

त्यसै गरी ४ दशमलव ५ मेगावाटको मध्य लिखु साना जलविद्युत् आयोजना, ३० मेगावाटको लिखु खोला जलविद्युत् आयोजना, ८ दशमलव५२ मेगावाटको चुले खोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

२९ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजना र ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेका छन् ।

अध्यक्ष सुनुवारले गाउँपालिका भित्र भएका विकासका काम बारे जानकारी गराउँदै विकास निर्माणको कामको गुणस्तरमा कुनै सम्झौता नुहुने बताउनुभयो । पालिकाको गौरवको आयोजनाको रूपमा रहेको मध्यमार्गी सडकको स्तर सुधारको लागि ४ करोड रुपैँमा ठेक्का सम्झौता भएको बताउँदै सुनुवारले त्यसको कामको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो । सो गाउँपालिकाको वडा नं ७ भूजीदेखि सबै वडाको बिच भाग हुँदै वडा नं १ को गुम्देलसम्म पुग्ने ७२ किलोमिटर लामो मध्यमार्गी सडकको ट्र्याक ओपन गर्ने काम भएको र अब स्तरोन्तीको लागि काम अघि बढेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने सुनिश्चितता भइसकेको जानकारी गराउँदै उहाँले त्यसको गुणस्तरमा पनि कुनै कमी आउन नदिने प्रष्ट पार्नुभयो । यस अघि भूजी डाँडा–कालोचौतारो क्षेत्रमा भएको पिच गुणस्तरीय नहुँदा उक्किएको बताउँदै उहाँले त्यसको गुणस्तर सुधार गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाको केन्द्रबाट सदरमुकाम मन्थली जोड्ने सडकको चैत मसान्तसम्म साढे ६ किलोमिटर कालोपत्रे हुने र बाँकी सडक आगामी आर्थिक वर्षमा कालोपत्रे हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले यस वर्ष गाउँपालिकामा २ सय बढी विकास योजना सञ्चालनमा रहेका बताउनुभयो । ती मध्य हालसम्म करिब १ सय वटा योजनाको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया