काठमाडाैं । नेपाल बार एशोसिएशनले अबको १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएको छ । बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिकाे विषयमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने र १० दिनभित्र नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने घाेषणा गरेकाे हाे ।
पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका नेतृत्वबिहीन भएको १ वर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढेकाले अब बार चुप लागेर नबस्ने बताउनुभयो । उहाँले व्यवस्थापिका र कार्यपालिकाले सर्वोच्च लगायतका न्यापालिकालाई हेपेका बताउनुभयाे ।
७ देखि १० दिनसम्म प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने चेतावनी घिमिरेले दिनुभयाे ।लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालत र जिल्लामा समेत न्यायाधीश खाली रहेकाले संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने उहाँले बताउनुभयाे ।
अदालतको पेसी पूर्ण रुपमा स्वचालित प्रणालीबाट हुनुपर्ने, प्रधानन्याधLशमाथिको महाभियोगलाई किनारा लगाउनुपर्ने लगायत विषयलाई सम्बन्धित निकायले गम्भीर रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
