काठमाडौँ । खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेल माथि बिहीबार आक्रमणका प्रयास भएको छ । गाउँ कार्यपालिका कार्यालयबाट प्रदेश ३–०२–००१ मोटरसाइकलमा चढेर घर फर्कँदै गर्दा पकरबासको सिकारी डाँडामा बाटो छेकी स्थानीय बिराज श्रेष्ठको नेतृत्वमा आएका मानिसहरूले उहाँ माथि आक्रमणको प्रयास गरेका थिए ।
उनीहरूले पौडेल चढेको सरकारी मोटरसाइकल समेत तोडफोड गरेका छन् । आफू माथि आक्रमण भएपछि पौडेल भाग्नु भएको थियो भने आक्रमणबाट मोटरसाइकलमा क्षति भएको छ ।
सो वडाको वडा कार्यालय भवन बनाउने स्थानको विषयमा विवाद थियो । वडाको आफ्नै जग्गा भएको ठाउँ पकरबासको ठाँटीमा भवन बनाउन सुरु गरेपछि फुल्पा क्षेत्रकाले सो स्थानमा भवन बनाउँदा अपायक पर्ने भन्दै विरोध जनाउँदै आएका थिए । तर वडा कार्यालयको जग्गा सोही ठाउँमा मात्र रहेको र यस अघि वडा कार्यालयले सोही स्थानमा रहेको कच्ची भवनबाट सेवा दिँदै आएकोले पुरानै ठाउँमा पक्की भवन बनाउन लागिएको वडाध्यक्ष पौडेलको भनाइ छ ।
गाउँपालिका अन्तर्गत भवन निर्माणका लागि बजेट परेपछि पुरानो भवन भत्काएर नयाँ भवन निर्माणको लागि काम सुरु गरिएको थियो । सर्वदलीय बैठकले समेत सो ठाउँमा भवन बनाउने निर्णय गरी काम सुरु गरिएपछि स्थानीयले विवाद सुरु गरेका थिए । उनीहरूले भवन निर्माणको लागि गरिएको ले–आउट समेत भत्काइदिएका थिए ।
वडाध्यक्ष माथि आक्रमण भएको भन्दै खाँडादेवी गाउँपालिकाले विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेको छ । गाउँ पाकिला अध्यक्ष ज्ञानकुमार श्रेष्ठ वडाध्यक्ष पौडेल माथि आक्रमण गरी उहाँ चढेको सवारी सधान समेत तोडफोड गरी विधिको शासन विपरीत कार्य गरेको प्रति खाँडादेवी गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । सो घटनामा संलग्नलाई पक्राउ गरी तत्काल कानुनी कारबाहीको प्रक्रिया सुरु गर्न पनि गाउँपालिकाले माग गरेको छ । घटनाको बारेमा गाउँपालिकालाई बिहीबार नै जानकारी दिएको र आज प्रहरीमा उजुरी दिने पौडेलले बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
