काठमाडाैं । नेपाल सरकारसँग रुसले सहयाेगका लागि १३ वटा परियोजनाको प्रस्ताव मागेको छ । रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुनसक्ने रेलवेदेखि सडकसम्मका योजनाको विस्तृत परियोजना प्रस्ताव माग गरिएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीबीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चाँसो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव मागेको हो । रुसले विद्युतीय रेलवे, राजमार्ग, वालबालिका क्यान्सर अस्पताल निर्माणदेखि नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययनका लागि छात्रबृत्ति कोटा बढाउने सम्मका परियोजना मागेकाे छ ।
अध्यक्ष तिमिल्सिनाले वैशाख ६ गते देखि ११ गतेसम्म गर्नुभएको रुस भ्रमणका क्रममा रुसको उपल्लो सदन फेड्रल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, रुसी तल्लो सदन डुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोका बिचमा भएको छलफलमा विभिन्न परियोजना अघि बढाउने विषय उठेका थिए ।
नेपालस्थित रुसी दूतावासले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई मे ४ मा पत्र लेख्दै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्तावहरु अघि बढाउन आग्रह गरेको छ ।
रुसले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग र काठमाडाैंमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलवे निर्माण गर्न तथा नेपालको मुख्य पर्यटकीय स्थल पोखरादेखि नजिकका पर्यटकीयस्थलाई जोड्ने पोखरा रिडी सडक निर्माणका लागि परियोजना प्रस्ताव मागेको छ । पोखरादेखि पर्वत हुँदै गुल्मी पुग्ने पोखरा रिडी सडकको लागत करिब ४ अर्ब छ । अध्यक्ष तिमिल्सिनाको प्रस्ताव अनुसार यो सडक रुसले आफ्नै लगानीमा निर्माण गर्न इच्छा देखिएको छ । यो सडक पोखराको पामेबाट पर्वतका ६ वटा पालिका हुँदै गुल्मीको रिडी सम्म पुग्ने दोहोरो साइकल लेन सहित निर्माण गरिनेछ ।
काठमाडाैं र पोखरामा दुई वटा बालबालिकाको क्यान्सर सम्बन्धी उपचार गर्ने अस्पताल निर्माण गर्न पनि रुसले चाँसो देखाएको छ । उक्त अस्पतालमा प्रारम्भिक चरणमा रुसी डाक्टरहरू उपलब्ध गराउने र सो सम्बन्धी अनुभव नेपाली विशेषज्ञलाई हस्तान्तरण गर्ने प्रस्ताव रुसले गरेको छ ।
अहिले नेपालबाट वार्षिक १८ जना बिद्यार्थीलाई रुसले छात्रबृत्ति उपलब्ध गराउँदै आएकोमा चिकित्सा र इञ्जिनियरिङ विषय अध्ययनका लागि वार्षिक १ सय ५० देखि २ सय बिद्यार्थीलाई छात्रबृत्ति कोटा उपलब्ध गराउन खोजेको छ ।
भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको छलफलमा नेपालमा जिटुजी मार्फत रासायनिक मल र गहुँ निर्यात गर्न रुसले चाँसो देखाएको थियो । रुसले रासायनिक मल र गहुँ बाहेक पेट्रोलिय पर्दाथ पनि प्रत्यक्ष रुपमा उपलब्ध गराउने प्रस्ताव मागेको छ ।
रुसले नेपालसँग मस्कोबाट सिधा हवाई उडान गर्ने, नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर बिक्री गर्ने तथा नेपालका पहाडी क्षेत्रका लागि उपयुक्त हुने सवारी साधानहरुको बिक्री गर्न पनि चाँसो राखेको छ ।
अध्यक्ष तिमिल्सिनाको निम्तो स्विकार्दै रुसको उपल्लो सदन र तल्लो सदनका प्रमुखले छिट्टै नेपालको भ्रमण गर्न प्रस्ताव पठाउनुभएको छ । रुसी प्रस्ताबारे अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री डा. बेदुराम भुसाल, भौतिक पुर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वाला, शिक्षा मन्त्री अशोक राई, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुलाई समेत परियोजना कार्यान्वयन गर्नका लागि प्रस्ताव तयार गर्न आग्रह गर्नुभएको छ ।
सरकारका तर्फबाट सबै मन्त्रालयले प्रस्ताव तयार गरेर पठाउने क्रम समेत सुरु भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
