• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भविष्यको आशा र विश्वास गरेर नेताहरूले कम्युनिष्ट आन्दोलन जोगाएकाे हो : अष्टलक्ष्मी शाक्य


  • खुला नेपाल
  • आइतवार, असार १७, २०८०
  • 1.2K
    SHARES

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेका नेता कार्यकर्तामा निराशा, पलायन र नकारात्मक सोच जरुरी नभएको बताउनुभएको छ । नेकपा एमाले रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले एमाले द्वन्द्ववादमा विश्वास गर्ने पार्टी भएकोले द्वन्द्ववादमा सधैँ संघर्ष चलिरहने अर्थ्याउनुभयो । संघर्षबाट पुरानो विस्थापित हुने र नयाँ सिर्जना हुने उहाँले प्रष्ट पार्नुभयो ।

हिजो संगठन निर्माणको एक मात्र उद्देश्य एकात्मक व्यवस्था अन्त्य भएको उहाँले बताउनुभयो । जनताको अधिकार स्थापित गर्न नेपालमा कम्युनिष्ट आन्दोलन सुरु भएको उहाँले प्रष्ट पार्नुभयो । ‘हिजो संगठन निर्माणको उद्देश्य एकात्मक व्यवस्था अन्त्य गर्नु थियो, त्यो विकास हुँदै गणतन्त्र स्थापनासम्म आइपुग्यो’, उहाँले भन्नुभयो ।

हिजो अनेक यातना सहँदा पनि विचलित नभई देशको भविष्यको आशा र विश्वास गरेर नेताहरूले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन जोगाएका उहाँले स्मरण गराउनुभयो । जेलमा दिएको यातनाले उहाँहरूलाई क्रान्तिकारी कम्युनिष्ट बनाएको उहाँले बताउनुभयो । नेपालमा अनेक खालका उद्यमशीलताको सम्भावना भएको बताउँदै शाक्यले आफ्नै हातबाट नेपाल बनाउने सोचका साथ अघि बढ्न आवश्यक रहेको बताउनुभयो । ‘आफ्नै मेहनतबाट नेपालाई समृद्ध बनाउने सोचका साथ अघि बढ्यो भने नेपाल समृद्ध बन्न सक्छ’, उहाँले भन्नुभयो ।

अहिले आधुनिकता र नयाँ प्रविधिले गाँजेर लगेको बताउँदै शाक्यले त्यसको सही उपयोग गर्ने सकेन भने प्रविधिले कमजोर बनाउँदै लैजाने बताउनुभयो । सूचना प्रविधिलाई नयाँ ढङ्गले सिक्न र सही ढङ्गले प्रयोग गर्न जरुरी रहेको शाक्यको भनाइ छ । कार्यक्रममा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया