• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्राविधिक सहित घरघरमा गएर पशुलाई लम्पी स्किन विरुद्ध खोप लगाउँदै जनप्रतिनिधिहरू


  • खुला नेपाल
  • आइतवार, असार १७, २०८०
  • 2.1K
    SHARES

काठमाडौं । अहिले देश भरी चौपाय पशु बस्तुमा लम्पी स्किन रोग देखा परेको छ । सो रोगका कारण धमाधम पशु बस्तु मर्न लागेपछि किसानहरू पीडित भएका छन् ।

सो रोगबाट गाउँमा चौपाय पशु बस्तु बिरामी पर्न लागेपछि रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुले सो रोग विरुद्धको खोप अभियानको रूपमा सुरु गरेको छ । वडा कार्यालयले आफ्नै खर्चमा किसानका घर घरमा प्राविधिक लगेर खोप लगाउन थालेको वडाध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो ।

हालसम्म सो वडाको साबिकका ४ वटा वडाका पशु बस्तुलाई खोप लगाइसकिएको उहाँले जानकारी दिनुभयो । २ सय भन्दा बढी गाई, गोरु र भैँसीलाई सो खोप लगाइसकिएको छ । ‘खोप लगाउन प्राविधिक लिएर म सहितका जनप्रतिनिधिहरू किसानको घर घरमा पुगेका छौँ, प्राविधिक एक्लैलाई लोकेसन थाहा हुँदैन, त्यसैले आफैँ दौडनु पर्छ, आज त भात खान पनि भ्याएको छैन’, आइतबार दिउँसो सनराइज खबरसँग कुरा गर्दै पौडेलले भन्नुभयो ।

रोगबाट बचाउन एक थरीको खोप र रोग लागेका पशुलाई अर्को थरीको खोप तथा औषधि प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । एउटा पशुलाई खोप लगाउन २ सय २५ रुपैँया बराबरको औषधी चाहिने उहाँले बताउनुभयो । ‘वडाको काम नभएको एउटा शीर्षकको रकम थियो, त्यसैलाई रकमान्तरण गरेर सबै खर्च वडाले बेहोर्ने गरी खोपको व्यवस्था मिलाएका छौँ’, उहाँले भन्नुभयो । सो वडाका ९० प्रतिशत बढी पशु बस्तु उक्त रोगको कारण बिरामी परेका छन् । हालसम्म रोगका कारण दूईवटा पशु बस्तु मरिसकेका छन् ।

 

प्रतिक्रिया