• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

​​​​एमाले अध्यक्ष ओलीद्वारा शार्दूलको अङ्क: ६ लोकार्पण


  • खुला नेपाल
  • आइतवार, असार २४, २०८०
  • 1.5K
    SHARES

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक साहित्यिक पत्रिका ‘शार्दूल’को लोकार्पण गर्नुभएको छ  ।

शुक्रवार काठमाडौँको प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालयको सभा हलमा आयोजित भव्य समारोहबीच केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित अर्धवार्षिक साहित्यिक पत्रिका ‘शार्दूल’को छैटौँ अङ्क लोकार्पण गर्नुभएको हो ।

प्राज्ञिक नेताका रूपमा परिचित अध्यक्ष ओलीले जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका सन्दर्भमा प्रतिष्ठानद्वारा आयोजित उक्त समारोहमा नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा मदन भण्डारीको विशेष योगदान रहेको बताउनुभयो ।

“जसरी राजनीतिमा मदनको अद्वितीय योगदान रहेको छ, त्यत्तिको योगदान साहित्यमा त रहन पाइएन तथापि जनतालाई जागरूक गर्ने, प्रेरित गर्ने सन्दर्भमा मदनका सिर्जनाको विशेष योगदान रहेको छ” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले ‘शार्दूल’ पत्रिकाको प्रशंसा गर्दै निरन्तरताको कामना गर्नुभयो ।

 

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले सार्थक कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “आजको कार्यक्रम पनि सान्दर्भिक छ ।” उहाँले केपी शर्मा ओलीलाई प्राज्ञिक नेताका रूपले आफूले पाएको विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष डा.विजय सुब्बाले जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रमले मदनको ओझेल परेको साहित्यिक व्यक्तित्वबारे प्रकाश पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानद्वारा यसअघि ‘हिमवत्खण्ड कला–साहित्य सम्मिलन’ आयोजना गरिएको उल्लेख गर्दै निकट भविष्यमा ‘हिमवत्खण्ड सांस्कृतिक सम्मिलन’ आयोजना गर्ने तयारी थालिएको बताउनुभयो ।

प्रतिष्ठानका सचिवालय सदस्य तथा ‘शार्दूल’ पत्रिकाका सम्पादक शशी लुमुम्बूले पत्रिकाका विषयमा प्रकाश पार्नुभएको थियो । शार्दूलमा शशी लुमुम्बू, फूलमान वल र जयन्ता पोखरेल सम्पादक रहनुभएको छ । ‘शार्दूल’को अङ्क: ६ मा विभिन्न लेखकका विशिष्ट सिर्जनाहरू समावेश गरिएका छन् ।

​​​​​​​समारोहमा कवि यशोदा अधिकारीले मदन भण्डारीको एक कविता वाचन गर्नुभएको थियो भने राष्ट्रिय जन सांस्कृतिक महासङ्घका कलाकारहरूले भण्डारीका चार कवितामा नाटक प्रस्तुत गरेका थिए । उक्त सत्रको सञ्चालन प्रतिष्ठानका सचिवालय सदस्य अशोक राईले गर्नुभएको थियो ।

समारोहमा एमालेका उपमहासचिव तथा साहित्यकार प्रदीप ज्ञवाली, पूर्व राजदूत तथा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय, प्रा.डा. हेमनाथ पौडेल, सांसद सुनिता बराल, नेता गुरु बराल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया