• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आज भानुजयन्ती मनाइँदै, गण्डकीमा सार्वजनिक बिदा


  • खुला नेपाल
  • शुक्रबार, असार २९, २०८०
  • 988
    SHARES

काठमाडौं । अ‌ाज असार २९, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती । आज देश तथा विदेशमा समेत विभिन्‍न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान लगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन् । विद्यालय तथा विश्वविद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदैछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएकाे छ ।

संस्कृत बुझ्‍न र पढ्न सक्नेको पहुँचमा मात्र रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी भानुभक्तले आफ्ने नेपाली समाजलाई अजरअमर उपहार दिनुभयो । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गर्नुभएकाे हाे ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए । जसले गर्दा उहाँलाई प्रेरणा मिल्‍याे । उहाँले रामायणलाई नेपालीमा उल्था गर्नुभएकाे थियाे ।

उहाँका वधुशिक्षा प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत कृति निक्‍कै चर्चित छन् ।  उहाँकाे भाेलिवाद सम्बन्धि रचना ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ पनि उत्तिकै चर्चित छ ।

भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्नका लागि ठूलाे याेगदान दिएका छन् ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन अ‌ादिकवि भानुभक्तको योगदान अतुलनिय छ ।  उहाँकाेबारे  त्रिभुवन विश्वविद्यालयबाट थुप्रै शोधग्रन्थ लेखिएका छन् । नेपाली भाषाको सेवा, संरक्षण, प्रवर्द्धन तथा अध्ययन, अनुसन्धान नै आदिकवि भानुभक्त प्रतिको सच्चा सम्मान हाे ।

उहाँकाे निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका ठाउँमा पनि मनाइँन्छ । उहाँकाे याेगदानकाे चर्चा गरेर तथा उहाँकाे सम्मानमा रचना वाचन गर्ने गरिन्छ ।भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले शुक्रबार सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया