काठमाडौं । नेकपा एमालेले आउने असोज महिना भित्रै पार्टीका प्रदेश अधिवेशन गरिसक्ने भएको छ । एमालेले सात मध्ये ६ वटा प्रदेश अधिवेशनको मिति नै तोकिसकेको छ । अब गण्डकी प्रदेश अधिवेशनको मिति मात्र तोक्न बाँकी छ । एमाले केन्द्रीय कार्यालयका अनुसार कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते हुने भएको छ । त्यस्तै मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते हुने भएको छ ।
लुम्बिनी प्रदेशको अधिवेशन भदौ महिनामा नै हुने भएको छ । भदौको १६ र १७ मा लुम्बिनी प्रदेश अधिवेशन हुने भएको छ ।त्यस्तै कर्णाली प्रदेशेको पार्टी अधिवेशन भदौ २९–३० मा हुने भएको छ । सुदूरपश्चिम प्रदेशको अधिवेशन भदौ २२–२३ मा गर्ने एमालेले मिति तोकेको छ ।
अधिवेशन तोक्न बाँकी रहेको गण्डकी प्रदेशको पनि छिट्टै बैठक बसेर अधिवेशन तोक्ने एमालेले जनाएको छ । गण्डकीको अधिवेशन पनि असोज महिना भित्र नै हुने बताइएको छ । प्रदेश अधिवेशनमा १ सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछन् । प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला अनिवार्य छान्नु पर्ने छ । त्यस्तै उत्पीडित समुदाय र मजदुरबाट पनि कोटामा प्रतिनिधि ल्याउने तयारी एमालेले जनाएको छ ।
नेकपा एमालेले पार्टी सदस्यको अन्तिम नामावली तयार गर्दै छ । सो नामावली तयार भएपछि प्रदेश अधिवेशनका प्रतिनिधि सङ्ख्या निश्चित हुने छ । एमालेले एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तयारी गरेको छ । सोही तालिका अनुसार सबैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारीमा एमाले लागेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
