काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजिएको होकी भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।
शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बिच बाटोमै समातेर मालिक जोगाउन खोजिएको होकी भन्ने आशंका उत्पन्न भएको बताएका हुन् ।
ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिने भएपनि त्यसो नगरिएको उनले बताए । लामिछानेले अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलौ व्यक्ति हुने आशंका रहेको पनि बताए ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले सुन प्रकरणमा सरकारले व्यक्ति हेरेर अनुसन्धानलाई अन्त्यसम्म नपुर्याई अर्को फाइल खोल्ने तयारीमा लागेको हुन सक्ने भएकाले रास्वपाले खबरदारी गरिरहेको धारणा व्यक्त गरे । सरकारले चालेका विभिन्न कदमबारे रास्वपाले नजिकबाट नियालिरहेको पनि उनले बताएका छन् ।
त्यस्तै, उनले रास्वपालाई बेला बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेको भन्दै जनताले दिएको मतको भारीबाहेक अरु कसैको भारी बोक्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन् ।
सभापति लामिछानेले आगामी निर्वाचनमा रास्वपालाई एकल सरकार बनाउने गरि जनताले विश्वास गरे भ्रष्टाचार मुद्दामा कसैलाई नजोगाउने गरि अनुसन्धान गर्ने दाबी गरेका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
