• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

‘अविरल जनसाहित्य यात्रा–८१’मा सशक्त प्रगतिवादी कवि महेश खरेलका एक दर्जन कविता गुञ्जिए


  • खुला नेपाल
  • आइतवार, साउन १४, २०८०
  • 8.6K
    SHARES

काठमाडौं । असार १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८१ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि महेश खरेलका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले उपाध्यक्ष, पूर्व अर्थ मन्त्री एवम् साहित्यकार सुरेन्द्र पाण्डे उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने, प्रा.जगत् उपाध्याय प्रेक्षित, वासुदेव अधिकारी, अग्रज स्रष्टाहरू नर्मदेश्वरी सत्याल, कणाद महर्षि, गायत्रीकुमार चापागाईँ, डम्बर पहाडी, सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष बिन्दु ढकाल, कविकी जीवनसङ्गिनी सरोजा आचार्य, कात्यायन, कमल खरेल, मिठाराम सापकोटा, सुनिल पोखरेल, कुलबहादुर आचार्य, उमेश उपाध्याय, प्रदीप आचार्य, द्रोण कोइराला, भरतबाबु दाहाललगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कविनायक महेश खरेलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै पुराना स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले महेश खरेलका समसामयिक विषय र सन्दर्भका एक दर्जन कविता प्रस्तुत गर्नेगरी कविलाई उभ्याएका छौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घमा समेत क्रियाशील रहेका र साहित्यका माध्यमबाट सामाजिक विकृतिमा रूपान्तरण गर्ने तथा मानवहितका लागि साहित्य सिर्जना गर्ने अभियानमा सामेल रहेका स्रष्टालाई आज हामी सुन्ने छौँ भन्ने धारणा राख्नुभयो ।

समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । प्रगतिशील दृष्टिकोणसहित रचना गरिएको साहित्यले सामाजिक रूपान्तरणमा मदत गर्दछ भनेर नै हामी हरेक महिना एकजना स्रष्टाको छनोट गर्दछौँ ।

आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले अविच्छिन्न सक्रियता देखाइरहेका स्रष्टा महेश खरेललाई प्रस्तुत गरिएको छ । महेश खरेल आफ्ना सिर्जनामा गम्भीरताका साथ समाजका कुरूप यथार्थलाई उतार्ने र सरलताका साथ, जीवनभोगाइका यथार्थ एवम् सुन्दर विम्बलाई प्रयोग गर्दै रूपान्तरणका पक्षमा वैचारिकता सम्प्रेषण गर्ने स्रष्टा पनि हुन् । आजको यो विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सुरेन्द्र पाण्डेलाई पाउँदा झण्डै पाँच दशकअघि चितवनमा नेकपा कोअर्डिनेसन केन्द्र स्थापनाको स्मरण पनि मलाई भएको छ भन्ने धारणा राख्नुभयो र कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।

कविनायक महेश खरेलले विगत छ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा धेरै स्रष्टाका कविता सुन्न उपस्थित भएको छु । यो उद्देश्यमूलक विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता पनि जाहेर गर्दछु । समाजमा दु:ख पाएका वर्गले भोगेका समस्या, पीडा र उनीहरूको जीवनभोगाइले चिमोटेपछि; शिक्षाले बेरोजगारी उत्पादन गरेपछि युवा पलायनको समस्याले देश आहत भएको अनुभूत गरेपछि, श्रमजीवीका पसिनाको अवमूल्यन भएको देखेपछि, ज्येष्ठ नागरिक उपहासमा परेको देखेपछि अर्थात् सत्तामा पुग्नेहरूको बोली र व्यवहारमा तालमेल मिलाउनुको सट्टा सत्ता जनताका लागि नभई आफ्नै स्वार्थका लागि भइदिएपछि आफ्नो मनमा उत्पन्त अनुभूतिलाई सिर्जनामा उतारेको रचनागर्भको पनि जानकारी गराउँदै आफ्ना ‘चेतनाको गर्भबाट’, ‘पदमा बसेको मान्छे’, ‘सङ्कल्प’, ‘नयाँवर्ष’, ‘घरमै विद्रोह उम्रियो’, ‘म’, ‘बादल लागेपछि’ र ‘आमा’ शीर्षकका आठओटा सशक्त एवम् सुन्दर कविता वाचन गर्नुभयो । कवि अनु शर्माले ‘आइदेऊ न माझीदाइ डुङ्गा बचाउन’ शीर्षकको, कवि डम्बर पहाडीले ‘मनका पवित्र उभारहरू’, शीर्षकको, कवि बिन्दु ढकालले ‘नयाँ सन्देश’ शीर्षकको, कवि नन्दु उप्रेतीले ‘तिम्रो यात्राको पर्खाइ’ शीर्षकका त्यस्तै सशक्त र सुन्दर कविता वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै अतिथि वरिष्ठ कवि एवम् समालोचक प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८१ औँ शृङ्खलामा पुगेको छ । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य सकारात्मक छ । आजको यो समारोहको उपस्थित पनि उल्लेखनीय छ । आज हामीले कवि महेश खरेलका कविता सुन्यौँ । आजका कविका प्रशासक, प्रबन्धक, राजनीतिक वैचारिक व्यक्तित्व र कविव्यक्तित्व पाइन्छ । कविका कवितामा रचनासमय उल्लेख भएको भने पाइँदैन । कवि नेपालमा कम्युनिस्ट पार्टीहरू एक हुँदा खुसी र टुक्रिँदा बेखुसी भएको सन्दर्भ कवितामा आएको छ । भाव र विचारको समन्वय स्रष्टाको आवश्यकता हो । हुन त भाव र विचार एउटै हो भन्ने मान्छन् मानिसहरू तर भाव अपरिस्कृकतरूपमा उब्जिन्छन् भने विचार परिस्कृतरूपमा सम्प्रेषित हुने हुँदा फरक छ ।

नेपालको २००७ सालको आन्दोलनपछि त्रिभुवनले गर्ने भनेको संविधानसभाको निर्वाचन रोकिँदा २०६२/६३ को आन्दोलनपछि मात्र सम्भव भएको सन्दर्भले कविलाई खुसी तुल्याएको राजनीतिक सन्दर्भ कवितामा आएको छ । लामा र मझौला संरचनामा संरचित कविताले राम्रा कुराको सराहना र नराम्रा कुराको भ्रत्सर्ना गरेका छन् । कविको काव्यिक अनुभूति सर्वकालिक हुने र यही नै स्रष्टाको सामथ्र्य हुँने हुँदा आजका कवितामा पनि राजनीतिक परिवेशको चर्चा र चिन्तन बढी आएको छ र उत्साही भाव सम्प्रेषित भएको छ । कवितामा निराशा, आशा र विचारको त्रिकोणात्मक भाव अभिव्यक्त भएको छ । कवितामा अन्तरहृदयमा गरिएको साक्षात्कार, वास्तविकताप्रतिको विश्वास, सङ्घर्षको आग्रह, सर्वजनहितायको सन्देश, कुसंस्कारको आलोचना र जीवनबोध आवश्यक हुन्छ ।

साहित्य सामाजिक रूपान्तरणको बलियो हतियार भएको हुँदा स्रष्टाको सचेतना आवश्यक हुन्छ । त्यसैगरी श्रमजीवी जनताको श्रमका प्रति सम्मानभाव राख्नु र सिर्जना गर्नु स्रष्टाको दायित्व हुन्छ । आजका सबै कवितामा राष्ट्रियताको वकालत गरिएको छ, सुख र समृद्धिको अपेक्षा गरिएको छ भन्ने धारणा राख्नुभयो ।

विशेष अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो एकासिऔँ शृङ्खलामा आज स्रष्टा महेश खरेललाई सुनियो । कविता सुनिसकेपछि पहिले पहिले विद्यार्थीकालमै प्रतिभा हेरेर पार्टीले समाउने र साङ्गठनिक भूमिका दिने गरेको झझल्को आयो । परिवारका सदस्यलाई वेलैदेखि राजनैतिक सहभागिताका लागि प्रेरित गर्नेखालका साहित्य सिर्जना गर्नुपर्ने परिवेश अहिलेको रहेको छ र त्यतातर्फ पनि स्रष्टाको ध्यान जानु जरुरी छ । आजका कविता सुन्नका लागि उपस्थिति पनि गरिमामय रहेको छ । सरल तरिकाले गम्भीर भाव सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि भएको छ भन्नुभयो ।

प्रमुख अतिथिले कविको अशक्त अवस्थामा पनि उत्प्रेरणा प्रदान गर्ने जीवनसङ्गिनी सरोजा आचार्यलाई म सर्वप्रथम हार्दिक धन्यवाद दिन्छु । पार्टीको भूमिगत जीवनमा पनि साहित्यलाई प्राथमिकतामा राखिएको र सो समयमा साहित्य सन्ध्याका माध्यमबाट पनि सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिएको हो । इतिहासको गहिरो अध्ययनविना वर्तमान र भविष्य बनाउन नसकिने, भीमसेन थापा र जङ्गबहादुरले गरेका ऐतिहासिक कार्य र राष्ट्रवादी भावना हामी सबैका लागि अनुकरणीय छन् त्यसैले इतिहासको मर्म नबुझी सतही कुरा गरिनुहुन्न । जनजागरणका लागि साहित्यले यथार्थपरक धारणा र विचार सम्प्रेषण गर्नसक्नुपर्दछ ।

२००८ सालदेखिको संविधानसभाको निर्वाचनका माध्यमबाट संविधान निर्माण गर्ने अपेक्षा २०७२ सालमा आएर पूरा भएको भए पनि सुधार र रूपान्तरणका थुप्रै काम बाँकी रहेका हुँदा त्यसतर्फ पनि स्रष्टाले चेतना सम्प्रेषण गर्नु आवश्यक रहेको छ । युवापुस्ता प्रविधिप्रयोगको नाममा फेसबुक, ट्युटरतिर बरालिएको र ती सञ्जालले श्रम शोषण गरिरहेकातर्फ पनि स्रष्टाको ध्यान जानु आवश्यक छ र सचेतनाको सन्देश सम्प्रेषण गर्नु आवश्यक छ । आजका कविताले हरेक बेथितिका प्रति रूपान्तरणको स्पष्ट सङ्केत गरेका छन् । म कविलाई धन्यवाद दिन्छु भन्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताभित्र थोरै बौद्धिकता मिश्रण गरी गम्भीर एवम् रूपान्तरणप्रेमी भाव सम्प्रेषण गर्ने; सिङ्गो जीवन आन्दोलनमा र रूपान्तरण अभियानमा लगाएका स्रष्टा महेश खरेलले आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्दै हाम्रो समाजका नारीहरूले, ज्येष्ठ नागरिकले, तल्लो वर्गका श्रमजीवी जनताले भोगेका सम्पूर्ण भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको, उत्पीडनको जीवन्त चित्रणसहित कविता सिर्जना गरेका छन् ।

आफ्ना सिर्जनामा आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, आफ्नो अशक्तावस्थालाई साहित्यतर्फ मोड्ने, गुणग्राही स्रष्टा महेश खरेलका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अर्काे महिनामा ८२ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यका माध्यमबाट र सामाजिक रूपान्तरण अभियानमा योगदान गरिरहनुभएकी अत्यन्त सक्रिय स्रष्टा अनिता लामालाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

प्रतिक्रिया