अस्ट्रेलिया । नेपाली चर्चित हिपहप गायक निर्णय ‘एन एसके’ अस्ट्रेलियामा गुञ्जिने भएका छन् । ‘सोलफुल रिदम्स : निर्णय ‘एनएसके’ लाइभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ ।
सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
साथै, यस कार्यक्रमबाट उठेको सम्पूर्ण रकम ‘सफलता एचआईभी शिक्षा सदन’लाई सहयोग गरिने आयोजकले जनाएको छ । सफलता एचआईभी शिक्षा सदन एचआईभी सङ्क्रमित बच्चाहरूलाई नि:शुल्क शिक्षा प्रदान गर्ने विद्यालय हो ।
३१ अगस्ट २०२३ मा हुन लागेको उक्त कार्यक्रममा निर्णयसँगै अस्ट्रेलिया मै बसोबास गर्दै आएका प्रतिभाशाली गायक रणक नव बस्नेतले पनि आफ्नो साङ्गीतिक प्रस्तुति दिनेछन् भने कार्यक्रम प्रस्तोताको रूपमा चर्चित प्रस्तोता विवेक खतिवडा रहेका छन् ।
अक्स्फोर्ड स्ट्रिट, प्याडिङ्ग्टनमा रहेको प्याड्डो आर.एस.एल क्लबमा आयोजना हुने कार्यक्रममा सङ्गीतप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई ह्याप्पी सोल बिस्ट्रो र ग्रिष्मा ब्रोड्कास्टिङ्गले संयुक्त रूपमा आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरूलाई सहज र रमाइलो अनुभव प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध र सोही अनुसारको तयारी रहेको ग्रिष्मा ब्रोडकास्टिङ्गका सीईओ पवन राज जोशी बताउँछन् ।
जोशीले सप्तरङ्ग सिजन एक, दुई, र तीन, स्टार क्रिकेट, र हिमालय फेसन एडभेन्चर लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय इभेन्टहरू सफल रूपमा आयोजना गरेका छन् । यता ह्याप्पी सोल बिस्ट्रोका निर्देशक राजु आचार्य पनि कार्यक्रम र ग्रिष्मा ब्रोडकास्टिङ्गसँगको यो साझेदारीलाई लिएर निकै उत्साहित रहेको बताउँछन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
