काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले अनेरास्ववियु आफ्नै गतिविधि र सिर्जनात्मक आन्दोलनबाट स्थापित संगठन भएको बताउनुभएको छ । अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीको २८ औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष बडालले अनेरास्ववियु सधैँ रचनात्मक र सिर्जनात्मक प्रतिस्पर्धाको निम्ति तयार रहेको बताउनुभयो । अनेरास्ववियुले आन्तरिक लोकतन्त्रलाई शिरोधार्य गरेर आज आफ्नो महाधिवेशन सम्पन्न गरेको छ’, उहाँले भन्नुभयो ।
अनेरोस्ववियुले तल्ला कमिटीदेखि नै यो अभ्यास गर्दै आएका उहाँले बताउनुभयो । भरसक सर्वसम्मत नेतृत्वको प्रयास गर्ने र नभए विधान अनुसार लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने अनेरास्ववियुको परम्परा बसिसकेको उहाँले प्रष्ट पार्नुभयो । अन्य विद्यार्थी संगठनलाई पनि यसबाट पाठ सिक्न उहाँले आग्रह गर्नुभयो ।
राजनीतिक अधिकार सँगसँगै शिक्षाको अधिकारका विषय पनि उठाउनु पर्छ भनेर अनेरास्ववियुले निरन्तर शैक्षिक मुद्दा उठाउँदै आएको उहाँले बताउनुभयो । अनेरास्ववियुकै कारण आज नयाँ शिक्षा ऐन आउने क्रममा रहेको उहाँको भनाइ छ ।
सामुदायिक शिक्षालाई सरलीकरण गर्दै लैजानु पर्छ भन्ने मुद्दा अनेरास्ववियुले उठाइरहेको उहाँले बताउनुभयो । पाठ्यक्रम समय अनुकूल परिवर्तन गर्नको लागि पनि अनेरास्ववियुले दबाब दिइरहेको उहाँले बताउनुभयो । सबै नेपाली विद्यार्थीले आफ्नो शैक्षिक भविष्य देश भित्रै देख्ने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
चरम राजनीतिको कारण विश्वविद्यालयहरू निकम्मा हुँदै गएका भन्दै बडालले विश्वविद्यालय प्राज्ञिक स्वतन्त्रताको आधारमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सक्षम र योग्य नेतृत्व विश्वविद्यालयमा पुग्ने वातावरण बन्यो भने मात्र विश्वविद्यालयको शिक्षामा सुधार गर्न सकिने उहाँले बताउनुभयो ।
विश्व विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्दा अध्ययनको लागि विदेश जानेको लाइन लागेको बडालले बताउनुभयो । यस्तै हो भने भोलि विभिन्न सेवा आयोग खुल्दा योग्य जनशक्ति नै नपाउने अवस्था आउने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
