काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई जना कैदीको मृत्यु भएको निष्कर्ष निकालेको छ ।
स्थलगत अध्ययनबाट फर्किएपछि इन्सेकले आयोजना गरेको पत्रकार सम्मेलनमार्फ यस्तो जानकारी दिइएको हो ।
सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मारिएका थिए ।
स्थलगत अध्ययनमा पुगेको इन्सेकको टोलीले कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरूलाई अस्पताल लगेको निष्कर्ष पनि निकालेको छ । मृतक दुई जनाले कारगारबाट भाग्ने प्रयास गरेका थिए ।
कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरू बाहिरको ठूलो पर्खाल नाघेर भाग्न सक्ने अवस्थामा थिएनन् । त्यसैक्रममा प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई कारागारका सुरक्षाकर्मी र कैदीले कुटेको अनुगमन टोलीको निष्कर्ष छ ।
‘बाहिर निर्मम र पाशविक यातना दिएपछि अन्तिममा भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’ स्थलगत अनुगमनका लागि घटनास्थल पुगेर फर्किएका इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले भने, ‘भित्रको प्रशासनले पनि कुटपिट गरेको देखिन्छ ।’
मृतकमाथि रड र लाठी पनि प्रहार भएको थियो । अनुगनका लागि पुगेको टोलीका एक सदस्यका अनुसार यातना दिने क्रममा उनीहरूको खुट्टामा रड घोपिएको थियो । रड घोपिएको डाम शवमा प्रष्ट देखिन्छ । सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको थियो । आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ ।
बाहिर क्रुर यातनापछि अन्तिम अवस्थामा घटनालाई डाइभर्ट गर्न भित्र बुझाएको अनुगमनका क्रममा देखिएको इन्सेक प्रदेश संयोजक थापाले बताए । ‘बाहिर मरासन्न हुनेगरी कुटपिट गरेको र घटना डाइभर्ट गर्नका लागि भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’थापाले भने, ‘सुरुको मुख्य जिम्मेवार प्रहरीबाटै यातना दिएको देखिन्छ ।’ राज्यको नियन्त्रणमा भएका मानिस मारिएको बताउँदै उनले घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्याय राज्यले दिनुपर्ने बताए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
