• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सदन अवरोध खुलाउन सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग सभामुखले छलफल गर्दै


  • खुला नेपाल
  • आइतवार, भदौ ३, २०८०
  • 1.7K
    SHARES

काठमाडौं। संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले आज सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरु छलफल गर्ने भएका छन् । सभामुख घिमिरेको सचिवालका अनुसार सभामुख घिमिरेले ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएका छन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागि हुने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।

संसद अवरोध भएसँगै अवरोध खुलाउन सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग र दलका प्रमुख सचेतकहरुसँग पटक पटक छलफल गर्दै आएका छन् । तर संसद बैठक नियमित बस्न सकेको छैन् ।

गत २९ गते अवरुद्ध भएर स्थगित भएको संसद बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठक पनि अवरुद्ध हुने देखिएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको छ ।

प्रतिक्रिया