• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

काेशी प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्री थापाले विश्वासकाे मत लिँदै


  • खुला नेपाल
  • सोमवार, भदौ ४, २०८०
  • 1.7K
    SHARES

काठमाडौं । कोशी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ ।दिउँसाे १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुहुने तय भएकाे छ । तत्कालीन सभामुख बाबुराम गाैतमलाई राजीनामा गराएर बहुमत पुर्‍याइ पुनः दाेस्राे पटक मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

सभामुख गाैतमले राजीनामा दिएपछि हाल उपसभामुख सिर्जना दनुवारले बैठककाे अध्यक्षता गर्दै आउनुभएकाे छ । सभामुखको समेत जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवार आजको बैठकमा अनुपस्थित भएमा मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन कठिन हुनेछ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनसँग ४७ मत मात्र छ । याे अंकगणित हेर्दा उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेश सभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत पाउनुहुनेछ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका ७ र राप्रपाका एक प्रदेश सभा सदस्यले उपस्थित हुन नसक्ने सूचना उपसभामुखलाई दिइसकेका बताइएकाे छ । एमालेका रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी तथा राप्रपाका गोपालबहादुर विश्वकर्माले आजकाे बैठकमा उपस्थित हुन नसक्ने सूचना उपसभामुखलाई दिनुभएकाे हाे ।

सभामुख गाैतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउँदै थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार थापाले प्रदेश सभामा विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।मुख्यमन्त्री थापाले भदाै १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने अवस्था छ ।

एमालेका हिक्मत कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बन्नुभएकाे थियाे ।सभामुखकाे हस्ताक्षर गराएर बहुमत पुर्‍याउँदै मुख्यमन्त्री नियुक्त हुनुभएका थापा सर्वाेच्च अदालतकाे आदेशले पदमुक्त हुनुभएकाे थियाे । सभामुखकाे हस्ताक्षर प्रयाेग गर्नु असंवैधानिक भएकाे ठहर गर्दै सर्वाेच्चले थापाकाे नियुक्ति बदर गरिदिएकाे थियाे । तर पछि थापाले सभामुख गाैतमलाई राजीनामा गराइ बहुमत पुर्‍याएर दाेस्राे पटक मुख्यमन्त्री बन्नुभयाे ।

प्रतिक्रिया