काठमाडौं । कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दलाका नेता हिक्मत कार्कीले गठबन्धनले संविधानको हुर्मत लिने काम गरेको बताउनुभएको छ । सोमबार कोसी प्रदेश सभामा मुख्यमन्त्री उद्धव थापाले कानुनी मूल्य, मान्यता सबैलाई धज्जी उडाएर आफ्नो पक्षमा विश्वासको मत देखाउनु भएको कार्कीले बताउनुभयो । सोमबार विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले समेत मतदान गरी थापाको पक्षमा बहुमत पुर्याइएको थियो ।
संविधानमा सभाका अध्यक्षले कुनै पनि निर्णय प्रक्रियामा मतदान गर्न नपाउने तर बराबर मत भएमा निर्णायक मत दिन पाउने व्यवस्था छ । त्यस विपरीत सभामा अध्यक्षता गरिरहेको नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यले समेत मत दिएर उहाँको पक्षमा बहुमत पुगेको घोषणा गर्नुभएको थियो । व्यापक विरोध र होहल्लाका बिच सभाका अध्यक्षले मुख्यमन्त्री थापाले विश्वासको मत पाउनु भएको घोषणा गर्नुभएको थियो ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारण सभालाई मंगलबार विराटनगरमा सम्बोधन गर्दै कार्कीले उद्धव थपा कोशी प्रदेशको स्वघोषित अवैध मुख्यमन्त्री भएको बताउनुभयो । हिजो विश्वासको मत लिँदा उहाँले ठाडै नेपालको संविधान, साउन २१ गतेको सर्वोच्चको नजिर, फैसला, संसदीय अभ्यास, हाम्रो प्रदेश सभाको नियमावली, सबै कुरालाई ठाडै कुल्चिएर सरकारले विश्वासको मत लिएको घोषणा गर्नुभयो’, कार्कीले भन्नुभयो ।
सो कार्यका विरुद्ध राजनीतिक साथै कानुनी उपचार पनि खोजिने कार्कीले बताउनुभयो । ‘भोली काठमाडौंमा सर्वोच्च अदालतमा त्यसको विरुद्ध रिट दायर गर्ने संसदीय दलमा निर्णय गरेका छौँ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेको कसैसँग व्यक्तिगत पूर्वाग्रह नरहेको बताउँदै कार्कीले संविधान, कानुन र एमाले विरुद्धका गतिविधिको भने डटेर सामना गर्ने प्रष्ट पार्नुभयो । सत्ता गठबन्धनले र लोकतन्त्र र एमालेलाई समाप्त पार्ने षडयन्त्र गरिरहेको उहाँको भनाइ छ ।
कोशी प्रदेशका मुख्य मन्त्री उद्धव थापाले यस अघि पनि आफ्नो पक्षमा प्रदेश सभामा बहुमत छ भन्ने प्रमाणित गर्न सभामुखको समेत हस्ताक्षर गराउनुभएको थियो । त्यसलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि उहाँले सभामुखलाई राजीनामा दिन लगाएर बहुमतको दाबी सहित मुख्यमन्त्रीको पुनः नियुक्ति लिनु भएको थियो । सोमबार पुनः विश्वासको मत लिन थापाले सभाध्यक्षको मत लिनुभएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
