काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटकाे एसिया क्षेत्र छनोटमा नेपालल लगातार दाेस्राे जित हात पारेकाे छ । मलेसियाकाे बायाेमास ओभलमा शुक्रबार भएकाे खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो । यसअघि बिहीबार भएकाे आफ्नाे पहिलाे खेलमा नेपालले घरेलु टाेली मलेसियालाई ५ रनले पराजित गरेको थियो ।
बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २ ओभर ५ बलमा बिना विकेटकाे क्षतिमा पूरा गर्याे । नेपालका लागि कविता कुँवर १७ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ राेजेकाे बहराईनले १५ ओभर ४ बलमा अलआउट हुँदै ३१ रन बनाएकाे थियाे । बहराइनका लागि दिपिका रासांगीकाले ११ रन बनाइन् ।बलिङतर्फ नेपालका लागि इन्दु वर्माले ३, खुसी डंगोलले २ तथा कप्तान रुविना क्षेत्री, कविता कुँवर र पूजा महतोले १-१ विकेट लिए ।
प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
