काठमाडौं । सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिँदैछ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुआत गर्नुहुनेछ ।
१४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई खाेप दिइने मन्त्रालयले जनाएकाे छ । २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन् ।मन्त्रालयका अनुसार अहिले यो खोपको मात्रा सीमित भएकाले यो उमेर समूहका करिब ९ हजार जना किशोरीलाई मात्रै दिइनेछ । खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण बोकेर मात्र ताेकिएका अस्पताल जान स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आग्रह गरेको छ ।
वाग्मतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल बाँके र कर्णालीको प्रादेशिक अस्पताल सुर्खेतमा आजदेखि ३० गतेसम्म खोप लगाइनेछ ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सी २९ गतेसम्म खोप लगाइनेछ । कोशीको कोशी अस्पतालमा भने भोलिदेखि ३० गतेसम्म र मधेशको नारायणी अस्पतालमा पर्सी २९ गतेदेखि ३१ गतेसम्म लगाइने मन्त्रालयले जनाएकाे छ ।खाेप सुरक्षित भएकाले ढुक्क भएर लगाउन पनि मन्त्रालयले अनुराेध गरेकाे छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
