काठमाडौं । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाका भाइ विष्णु बेघा सहित आठ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सन्देश राईलाई आक्रमण गरी गम्भीर घाइते बनाएको आरोपमा इलाका प्रहरी कार्यालय धरानले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा २३ वर्षीय बेघा सहित धरान उपमहानगरपालिका–१५ सूर्य बस्तीका २४ वर्षीय अमृत तामाङ, २३ वर्षीय अनिल मगर, २५ वर्षीय सजीव राई, २४ वर्षीय सुरज तामाङ, २० वर्षीय मेनल तामाङ, २९ वर्षीय राजकुमार लिम्बू, २६ वर्षीय दीपेन्द्र राई रहेका छन् ।
मंगलबार बेघाको टोलीले सन्देश राईलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर भागेका थिए । राईलाई घाइते बनाइ भागेका बेघा घरमा आएर बसेको अवस्थामा राईको समूह बेघाको घरमा पुगेको थियो । सो क्रममा युवा समूहले उपप्रमुख अइन्द्रबिक्रमको घरमा ढुङ्गा हानी सामान्य क्षति पुर्याउनुको साथै विष्णुलाई समेत आक्रमण गरी घाइते बनाएका थिए । आक्रमणबाट विष्णुको गालामा चोट लागेको थियो ।
अघिल्लो घटना लुकाएर माओवादीबाट निर्वाचित उपप्रमुख बेघाले आफ्नो घरमा तोडफोड भएको र भाइलाई आक्रमण गरिएको बताउँदै आउनुभएको थियो । प्रहरीले भने सन्देश माथि आक्रमण भएपछि सो घटना भएको जनाएको छ ।
घरमा तोडफोड हुँदा प्रहरीलाई खबर गर्दा समयमा प्रहरी नआएको आरोप उपप्रमुखले लगाउनु भएको थियो । प्रहरी घटना भएको आधा घण्टा पछि मात्र आएको उहाँको भनाइ छ ।
अहिले पनि आफ्नो घरमा तोडफोड र भाइ माथि आक्रमण भएपछि आफ्नो भाइको समूहले राईलाई आक्रमण गरेको हुनसक्ने बेघाको दाबी । तर दोषी जो भए पनि छाड्न नहुने उहाँले बताउनुभयो । प्रहरीले बेघाको टोलीबाट तीन थान गुलेली र तीन थान खुकुरी बरामद गरेको छ । घटनाको बारे अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ ।
विष्णुको समूहका आक्रमणबाट घाइते सन्देश राईको चिन्ताजनक अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । राईको कम्मरमा गहिरो चोट लागेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
