काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले ९ महिनामा केही काम नगरेको बताउनुभएकाे छ ।गुरू लुइँटेल स्मृति पार्ककाे आइतबार ओखलढुंगामा उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले ९ महिनामा सिन्को पनि नभाँचेकाे बताउनुभयाे ।
सरकार आफ्न्त पाेस्ने मात्र काम गरिरहेकाे तर जनता नहेकाे उहाँले बताउनुभयाे । अहिलेकाे सरकार नालायक भएकाे, जनतालाई हेर्दै नहेरेकाे र सुन तस्करीमा गरिरहेकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘सरकार बनाएर छाेराछाेरीका घर हेर्नुस्, गाडी हेर्नुस्, आफ्न्त सप्रिएकाे हेर्नुस्, मुलापनि त्यति राम्ररी सप्रिँदैन त्यति राम्ररी आफन्त सपारेकाे छ, जनताका लागि केही गरेकाे छैन, ९ महिनामा सरकारले केही गरेकाे, सिन्काे भाँचेकाे देख्नुभएकाे छ ? एउटा काम गरेकाे छैन, संसद्बाट ।’
जनतालाई नहेरेकाले अहिलेकाे सरकारलाई हटाउनुपर्ने समेत अध्यक्ष ओलीले बताउनुभयाे । सुन तस्करी रोक्न एमालेले संसद्बाट माग गर्दा त्यसबेला आफूलाई बाेल्न नदिएकाे र एमालेले संसद् अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको अध्यक्ष ओलीले बताउनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदा संसद् रोकिएको भन्दै उहाँले आपत्ति जनाउनुभयाे । अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे – ‘प्रधानमन्त्री नहुँदा संसद् चल्दैन ? दुनियाँमा चल्दैन ? अमेरिका भारतका प्रधानमन्त्री घुमेकाे घुम्यै गर्छन् त्यहाँ संसद् चल्दैन ? अहिले काेही बाेल्दैनन् किनभने सत्तामा जान खुट्टाे उचालेका छन्, मन्त्री खान आँ गरेर बसेका छन् ।’
एमाले नेतृत्वकाे सरकारले विगतमा देश, जनता, विकास, सामाजिक सुरक्षा लगायत हरेक क्षेत्रमा अभूतपूर्व काम गरेकाे उहाँले स्मरण गराउनुभयाे ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
