काठमाडौँ । शिक्षकहरूले टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। महासंघसँगको सहमतिमा आफूहरूको मागप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै राहत, पेन्सन वञ्चित, उमावि अनुदान, अस्थायी/करार बालविकास शिक्षक, कर्मचारी र कार्यालय सहयोगीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । आन्दोलनको क्रममा बुधवार प्रहरीले लाठीचार्ज गरेको थियो। शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै शिक्षकहरू आक्रोशित बनेका हुन् । उनीहरूले शिक्षकहरूसँग वार्ता गरेर माग सम्बोधन गर्नुको साटो प्रहरी लगाएर राज्यले दमन गर्न खोजेको आरोप लगाएका छन्।

उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकाले ।शिक्षकहरूको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त भएको छ । उनीहरूले विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गरेका छन् ।

राहत शिक्षकले शतप्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरूले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह शिक्षकसरह तलब हुनुपर्नेलगायत माग राखेका छन् । विगत ९ दिनदेखि उनीहरुले आन्दोलन गर्दै आएका छन्।