काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड शुक्रबार बझाङ जाने तयारी गरेको उनका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले बिहीबार बझाङका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए।
बिहीबार बसेको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताएका थिए। उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका थिए। बझाङमा गत मंगलबार भूकम्प गएको थियो। त्यसपछि पटकपटक पराकम्पन आएका थिए।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
