• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

गम्भीर अपराधमा संलग्नको जेल सजाय माफी मिनाहाको घटनाले सबैलाई गिज्याएको छ : गगनकुमार थापा


  • खुला नेपाल
  • बिहिबार, अशोज १८, २०८०
  • 2.1K
    SHARES

काठमाडौं । प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले सत्तामा जो भए पनि गम्भीर अपरामा संलग्न मानिसलाई उन्मुक्ति दिन नमिल्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले यस्ता कुरामा कसैले पनि सत्ता पक्षमा हुँदा एउटा कुरा र सत्ता बाहिर रहँदा अर्को कुरा गर्नु नहुने बताउनुभयो । संविधानमा सजाय माफी मिनाहा गर्ने व्यवस्था विशेष परिस्थितिको लागि गरिएको भए पनि त्यसको दुरुपयोग गरी अपराधीलाई माफी मिनाहा दिने गरिएको भन्दै थापाले आलोचना गर्नुभयो ।

सबैले कानुनको छिद्रको दुरुपयोग गर्दै अपराधीलाई छाड्न र उन्मुक्ति दिने काम गरेका थापाले बताउनुभयो । यस्तो हुँदा न्याय मर्ने उहाँले स्पष्ट पार्नुभयो । गम्भीर फौज्दारी अपराधमा संलग्न दोषीको कैद सजाय मिनाहा गर्न नमिल्ने स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै पनि त्यस्ता अपराधीलाई छाड्ने गरिएको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

संविधान दिवसको दिन छाडिएका ६ सय ७० जना कैदी मध्ये कतिपय संविधान र कानुन संवत् मानिस छाडिएका भए पनि केही गम्भीर अपराधीलाई कानुनको छिद्रमा छिरेर छाडिएको उहाँले बताउनुभयो । ‘संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर भएको व्यक्तिलाई कैद माफी मिनाहा भएको छ, बदनियतका साथ भएको यो निर्णय गलत छ, यसको विरोध स्वाभाविक छ, वान्छनिय छ, यसको विरोध हुन्छ, हामी विरोध गर्दछौँ, यो विषय अदालतको ढोकासम्म पुगेको छ, जसले हामी सबैलाई गिज्याइरहेको छ, अदालत माथि पनि प्रश्न उठेको छ’, उहाँले भन्नुभयो ।

सो निर्णयको बारेमा सरकारले सदनमा आएर जवाफ दिनु पर्ने थापाले बताउनुभयो । सरकार निर्णय गरेर भाग्न नमिल्ने उहाँले बताउनुभयो ।

कैदीको सजाय मिनाहा गर्ने कुरामा ठुलो आर्थिक अनियमितता हुने गरेको थापाको भनाई छ । त्यसको निष्पक्ष छानबिन समेत हुनु पर्ने उहाँले बताउनुभयो ।

कैद मिनाहा गर्ने कानुन समेत संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । छिद्रमा छिरेर गरिने गलत काम रोक्न कानुनलाई ठिक बनाउनु  पर्ने उहाँले बताउनुभयो । ‘दण्डहीनतालाई प्रश्रय दिने कुरा एकदमै खतरनाक छ’, उहाँले भन्नुभयो ।

राज्यले आफूले कानुन मिच्ने कुरा निक्कै खतरनाक हुने उहाँले बताउनुभयो । यस्ता घटनाबाट सरकारले वैधता गुमाउने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया