काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले गठबन्धन सरकारमा कुनै पनि राजनीति नैतिक नभएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले गर्न लागेको पब्जी प्रतियोगिताको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै थेबेले नेपालको राजनीतिमा कलंकित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीको राजनीतिमा फेरी अर्को कलंकित काम गरेको बताउनुभयो । कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बन्न नदिने प्रचण्ड र सत्ता गठबन्धनका राजनीतिक दल अहिले उहाँलाई विश्वासको मत दिन हारालुछ गर्न लागेका थेबेको भनाइ छ ।
राजनीतिमा सामान्य नैतिकता र नेताहरूमा सामान्य लाज हुनु पर्ने उहाँले बताउनुभयो । प्रचण्ड नेपालको राजनीतिको निर्लज्ज पात्र भएको उहाँले टिप्पणी गर्नुभयो । ‘नेतासँग लाज भएन भने देश बिग्रिन्छ, नैतिकता भएन भने राज्य चलाउन सकिँदैन’, उहाँले भन्नुभयो ।
राजनीतिमा जिम्मेवार भएर अघि बढ्न पनि उहाँले नेताहरूलाई आग्रह गर्नुभयो । कोशीको घटनाक्रमले यो देशलाई जोगाउन र राजनीतिक स्थिरता कायम गर्न एमालेको विकल्प छैन भन्ने कुरा प्रमाणित भएको उहाँले दाबी गर्नुभयो । एमालेले केदार कार्कीलाई समर्थन गरिदिएकै कारण कोशी प्रदेश मध्यावधि निर्वाचनमा जानबाट जोगिएको उहाँले प्रष्ट पार्नुभयो ।
कोशी प्रदेशमा पहिचानको नाममा काटमार र ढुंगामुढाको राजनीति गर्न लागिएको भन्दै उहाँले आलोचना गर्नुभयो । अरूको पहिचान स्विकार्न नसक्नेलाई पहिचानवादी हुँ भन्ने नैतिक हैसियत नभएका उहाँले बताउनुभयो । नेकपा एमाले सबैको पहिचान स्विकार्ने पार्टी भएले एमाले सही पहिचानवादी भएको उहाँले प्रष्ट पार्नुभयो ।
झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन गएका एमाले कार्यकर्ता र सर्वसाधारणको पार्किङमा राखिएका गाडी तोडफोड गरेर आतंक मच्चाउने काम गरिएको उहाँले बताउनुभयो । मान्छेको मासु पोलेर खान्छु भनेर अभिव्यक्ति दिने, पार्किङमा राखिएका गाडी फोर्ने व्यक्तिलाई सरकारले खुलेआम छाडेको भन्दै उहाँले आलोचना गर्नुभयो । आपराधिक गतिविधि नियन्त्रण गर्न नसकेको भन्दै सरकार र गृह मन्त्रीलाई उहाँले नालायकको संज्ञा दिनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
