काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग सोमाबर परामर्श गरेको छ ।
जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।
आयोगको केन्द्रीय कार्यालयमा आज आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले उहाँहरूसँग परामर्श गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय डा जानकी तुलाधर र सगुनशम्शेर जबरा, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङलगायत र आयोगका पूर्वसचिवहरू मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्तलगायत सहभागी हुनुहुन्छ ।
परामर्श बैठकको प्रारम्भमा आयोगका सचिव महादेव पन्थले यसअघिका निर्वाचन व्यवस्थापनमा भएका अनुभव तथा आइपरेका समस्या र चुनौती समाधानमा खेलिएको भूमिकासम्बन्धी अनुभव आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
