विराटनगर । मोरङको रङ्गेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूमिमा केही दिनयता देखिँदै आएको हाइना (हुँडार) नेपालतर्फ छिर्न सक्ने भन्दै निगरानी थालिएको छ । रङ्गेली नगरपालिका–५, आँपगाछी तथा धनपति क्षेत्रमा शनिबार साँझ स्थानीयले हाइना देखेको भने पनि सरकारी संयन्त्रले त्यसको पुष्टि गर्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटीका अनुसार राति स्थानीयले हाइना देखियो भनेको स्थानमा पुग्दा त्यहाँ केही देखिएन । डिभिजन वन कार्यालय मोरङले भने हाइना नेपाल प्रवेश गर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन प्रहरीलाई एक साताअगाडि नै आग्रह गरेको थियो ।
हाइना दिउँसो नदेखिने र राति मात्रै देखिने उहाँको भनाइ छ । स्थानीयसँग सबडिभिजन वन कार्यालय रङ्गेलीको टोलीले यस विषयमा सचेतनासँगै सहयोगसमेत लिइरहेको छ । यद्यपि अहिले नेपाली भूमिमा नै हाइना देखिएको भन्ने पुष्टि हुने कुनै आधार प्राप्त भइसकेको छैन । अहिले धानबालीको सिजन भएकाले हाइना दिनभर खेतमा सुत्ने र राति सिकारका लागि हिँड्ने प्राणी भएको उहाँले बताउनुभयो ।
बोगटीले भन्नुभयो, “रङ्गेली क्षेत्रमा अहिले हाइना देखिएको हल्ला निराधार हुन् । केही दिनअगाडि रङ्गेलीकै टकुवामा एक व्यक्तिमाथि आव्रmमण भएको भन्ने हल्ला चलेको थियो तर यस क्षेत्रमा कोही पनि व्यक्ति कुनै जन्तुको आव्रmमणमा परेको भनेर अस्पताल पुगेको जानकारी नआएकाले त्यसमा सत्यता देखिँदैन ।”
उहाँले सामाजिक सञ्जालमा सार्वजनिक भएको हाइनाको तस्बिरसमेत नेपाली भूमिको नभएर भारतीय भूमिको भएको बताउनुभयो ।
डिभिजन वन कार्यालय मोरङका वन अधिकृत तथा सूचना अधिकारी रामलखन ठाकुरले भने हाइना नेपाल प्रवेश गर्ने सम्भावना धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतमा हाइनाले केही क्षति पु¥याएको सूचना प्राप्त भएको छ । त्यसैले हामीले नेपाल प्रहरीलाई पनि सचेत रहन आग्रह गरेका छौँ ।”
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
