काठमाडौँ । अबदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने भएका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोगमा आयोजित एक कार्यक्रममा यसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा आयोगले यस्तो व्यवस्था गरेको हो । शुभारम्भ कार्यक्रममा जेनजी अभियानका अभियन्ताको पनि उपस्थिति थियो ।
यस कार्यको शुभारम्भसँगै जिल्ला निर्वाचन कार्यालयमा लाम लागेर मतदाता नामावलीमा नाम लेखाउनुपर्ने झन्झटबाट मतदाताले मुक्ति पाएका छन् । निर्वाचन कार्यालयमा नाम लेखाउनेको भिड बढ्न थालेपछि सरकारले विकल्पका रूपमा परिचयपत्र बनाउँदा दर्ता गरिएको ‘बायोमेट्रिक’ प्रयोग गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परिचयपत्रमा दर्ता भइसकेका व्यक्तिले निर्वाचन आयोगको पोर्टलमा गएर आफ्नो नाम दर्ता गर्न सक्ने छन् । यसरी दर्ता गर्दा परिचयपत्र बनाउन प्रयोग गरिएको बायोमेट्रिक नै मतदाता नामावली छपाइमा पनि प्रयोग हुन्छ । यस कार्यको शुभारम्भसँगै नेपालमा राष्ट्रिय परिचयपत्र बनाएर विदेश गएका नागरिकले पनि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाउने भएका छन् । यसका लागि सम्बन्धित व्यक्तिले वेबसाइटमा आफ्नो परिचयपत्र नम्बर र मोबाइल नम्बर प्रविष्ट गर्नु पर्छ ।
यदि विदेशबाट नामावलीमा नाम दर्ता गराउने हो भने मोबाइल नम्बरको सट्टा इमेल ठेगाना प्रविष्ट गर्नु पर्छ । यति गरेपछि परिचयपत्रमा उल्लेख भएको विवरण देखिन्छ । त्यसपछि आफूले मतदान गर्ने प्रदेश, जिल्ला, स्थानीय तहलगायतको विवरण भर्नु पर्छ तर परिचयपत्र नम्बर नभएका व्यक्तिले भने स्वदेश तथा विदेश कतैबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने छैनन् ।
घाइतेलाई अस्पतालमै मतदाता परिचयपत्र
यसैबिच जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई अस्पतालमै मतदाता परिचयपत्र उपलब्ध गराइएको छ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रका लागि लिइएको बायोमेट्रिक्सको तथ्याङ्कलाई आधार बनाएर मतदाता परिचयपत्र बनाउने सक्ने कार्यको शुभारम्भ गरेसँगै सोही आधारमा बिहीबार अस्पतालका घाइतेलाई परिचपपत्र उपलब्ध गराइएको हो ।
जेनजी अभियन्ताले अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरको शøयामै ल्यापटप लगेर घाइतेको मतदाता परिचयपत्रको फाराम भराएका हुन् । घाइतेले ‘बायोमेट्रिक’ तथ्याङ्कका आधारमा मतदाता परिचयपत्र पाउने छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
