• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कोप–३० मा ‘पर्वत र जलवायु परिवर्तन’ मुद्धा स्थापित गर्दै नेपाल


  • खुला नेपाल
  • बुधबार, मंसिर ३, २०८२
  • 2.7K
    SHARES

काठमाडौं । ब्राजिलको बेलेंममा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३०) मा ‘पर्वत र जलवायु परिवर्तन’ लाई स्थायी फोरमको रूपमा स्थापित गर्न नेपालले प्रयास गरिरहेको छ।

यसबारे अन्तिम निर्णय नोभेम्बर २१ मा हुने समापन प्लेनरी बैठकमा हुने बताइएको छ। निर्णय पारित भएमा, यो संयुक्त राष्ट्र सङ्घीय जलवायु वार्तामा नेपालको दीर्घकालीन कूटनीतिक उपलब्धि हुनेछ र यसले पर्वतसम्बन्धी विषयलाई औंपचारिक रूपमा स्थायी छलफलका लागि मार्ग प्रशस्त गर्नेछ।

नेपालका तर्फबाट वार्ता गर्दै आएका प्रतिनिधि मनजीत ढकालका अनुसार पर्वत र जलवायु परिवर्तनसम्बन्धी एजेन्डाको प्रस्ताव कोप–३० को उद्घाटन प्लेनरीमै पहिलो पटक उठाइएको थियो। त्यसपछि राष्ट्रहरूले यो विषयमा कोप–३० को अध्यक्षसँग परामर्श गर्ने सहमति जनाएका थिए।

यसअघि पनि नेपाल र भुटानले किर्गिस्तान ९माउन्टेन ग्रुपका वर्तमान अध्यक्ष० सहित अन्य मुलुकहरूसँग मिलेर पर्वत–जलवायु छलफलका लागि समग्र सहमति निर्माण गर्न विभिन्न चरणका परामर्शहरू गरेका थिए। तर ढकालका अनुसार, अन्तिम निर्णय भने नोभेम्बर २१ को सम्मेलन समापन प्लेनरीमै हुनेछ।

‘यदि सहमति भयो भने, सुरुमा यो एक पटक हुने कार्यक्रम हुनेछ। तर त्यस संवादका नतिजालाई हेरेर यसलाई वार्षिक रूपमा दोहोरिने, अझ स्थायी पर्वत–जलवायु मञ्चको रूपमा विकास गर्ने सम्भावनाबारे समेत विचार हुनेछ,’ उनले बताए।

समग्र उपलब्धि र अपेक्षा पूरा नभए पनि ऐतिहासिक कदम हुने ढकालको दाबी छ।

 

प्रतिक्रिया