• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

आगलागीसहित विपद्का घट्नामा सावधानी हुन आग्रह


  • खुला नेपाल
  • आइतवार, मंसिर ७, २०८२
  • 1K
    SHARES

काठमाडौँ । पछिल्ला दिन आगलागी बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ । दैनिक विपद्का घटना बढिरहदा सावधानी अपनाउनु जरुरी देखिएको बताइएको छ ।

शनिबार मात्रै देशभर विपद्का १८ घटना भएपछि प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको हो । १८ घटनामा आगलागीका मात्र १५ घटना भएका छन् । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना भएकाले थप सावधानी अपनाउनु पर्ने देखिएको छ ।

मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । मनाङको नासो गापा–१ तालडाँडास्थित बेँसीसहर–चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो । विपद्का कारण दुई जना घाइते भए भने अनुमानित क्षति ५३ लाख सात हजार ५ सय ५० रुपैयाँ बराबर भएको छ ।

त्यसैगरी, मङ्सिर ५ गते पनि देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा दुई–दुईवटा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासीपूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो ।

त्यस दिन पाल्पाको रिब्दीकोट–३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो ।

जनचेतनाको अभाव एवम् लापरवाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुनपुगेको छ । प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहेनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया