• सोमवार, अशोज १९, २०८३
  • Monday 5th October 2026

सञ्चारमन्त्री खरेललाई गृह जिल्लामा अभिनन्दन


  • खुला नेपाल
  • आइतवार, मंसिर ७, २०८२
  • 2.2K
    SHARES

चरीकोट । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिने बताउनुभएको छ ।

उहाँले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताउनुभएको छ । मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आइतबार कालिन्चोक–८ सुनखानीमा कालिनाग माध्यामिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। सो विद्यालय मन्त्री खरेलले कक्षा १ देखि १० सम्म पढ्नुभएको हो ।

दोलखा भ्रमणले शिक्षा, प्रविधि र स्थानीय विकासका योजनामा नयाँ उत्साह सिर्जना गरेको बताउनुभयो । मन्त्री खरेल आइतबार आफ्नो गृह जिल्ला दोलखा पुग्नुभएको हो। दोलखा पुग्नुभएका मन्त्री खरेल विभिन्न कार्यक्रममा सहाभागी हुनुभएको थियो।

जन्मस्थल जिल्लाको कालिन्चोक गाउँपालिका–८, सुनखानी पुगेपछि स्थानीयवासीले मन्त्री खरेललाई बाजागाजासहित स्वागत तथा अभिनन्दन गर्नुभएको थियो। जिल्ला प्रवेश गरेलगत्तै मन्त्री खरेलले आफ्नै जन्मस्थानस्थित कालिनाग मन्दिरको दर्शन गरी पूजा अर्चना गर्नुभएको थियो।

मन्त्री खरेल आइतबार राति सदरमुकाम चरिकोटमै बास बस्ने कार्यक्रम रहेको साथै सोमबार जिल्लाका विभिन्न कार्यालय प्रमुखसँग छलफल तथा बैठकमा सहभागी लगायतक विभिन्न कार्यक्रमको कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ।
आगामी फाल्गुन २१ गते निर्वाचनको तयारीमा सरकारले काम गरिरहेको बताउदै उहाँले सबै दल र नागरिकलाई जिम्मेवारीपूर्वक निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो।

उहाँले सरकारले अहिलेसम्म धेरै राम्रा काम गरेको भए पनि केही क्षेत्रमा अझ राम्रो गर्नुपर्ने बताउनुभयो । आफूले राम्रो काम गर्न नसके पनि कुनै पनि नराम्रो काम नगर्ने बताउनुभयो । हालको सरकारको कार्यशैलीले जेनजी आन्दोलनका योगदानको सम्मान गरेको प्रष्ट पार्नुभयो।

मन्त्री खरेलले देशमा राजनीतिक दलको अत्यधिक सत्ता खेल र स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “देशमा स्थिर सरकार नबन्दा राजनीतिक दलको अस्थिर सत्ता–प्रतिस्पर्धा बढेर शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म प्रभाव परेको छ। अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दलले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आवश्यक छ।”मन्त्री खरेलले राष्ट्रिय विकास, गुणस्तरीय शिक्षा र प्रविधिमा आधुनिक सुधारलाई पनि प्राथमिकतामा राख्दै काम गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक दलभित्र सक्षम र जिम्मेवार नेतृत्व रहेको हुँदा चुनाव नजिकिँदै गर्दा सही नेतृत्त्व छान्नु आवश्यक रहेकोमा जोड दिनुभयो।

मन्त्री खरेलले आफ्नो जन्मस्थानमा आएर शिक्षा र प्राविधि क्षेत्रमा सुधार तथा विकासका योजनामा सक्रिय सहयोग गर्ने बताउनुभएको छ।

उहाँले आधुनिक प्रविधिको प्रयोगमार्फत् शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउने, गाउँ(सहरबीच पहुँच र कनेक्टिभिटी सुधार गर्ने र स्थिर शासन प्रणालीमार्फत समग्र राष्ट्रिय विकासमा योगदान पुर्‍याउने विषयमा जोड दिनुभयो।

 

प्रतिक्रिया