काठमाडौँ। स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपियाँले बढेको छ । सोमबार प्रतितोलामा दुई लाख ४२ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर मङ्गलबार दुई लाख ४७ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर चार हजार १४६ अमेरिकी डलर पुगेको छ । यसअघि असोज ३१ गते दुई लाख ५८ हजार पुगेको सुनको मूल्य घटेर दुई लाख ३६ हजारसम्म झरेको थियो । त्यसपछि बढ्दै फेरि दुई लाख ५० हजारनजिक पुगेको छ ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिकी फेडरल रिजर्भ बैङ्कले आगामी डिसेम्बरमा ०.२५ प्रतिशतले ब्याजदर घटाउने हल्लाले सुनको मूल्य बढ्न गएको जानकारी दिनुभयो । यस्तै फ्रान्सले युक्रेनलाई युद्ध सामग्री दिने सम्झौता गरेकाले पनि सुनको मूल्य बढ्न गएको उहाँको भनाइ छ ।
पछिल्लो केही सातायता सुनको मूल्यमा घटबढ आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा अस्थिर भई आर्थिक गतिविधि चलायमान नहुँदा लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको उहाँको भनाइ छ । मङ्सिर महिना बिहेको सिजन भए पनि बजारमा माग न्यून हुँदा कारोबार भने बढ्न नसकेको शाक्यले बताउनुभयो । सुनको मूल्य निरन्तर बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति न्यून हुँदा लगनको सिजन भए पनि सुनको कारोबार बढ्न नसकेको उहाँको भनाइ छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
