एक धनी व्यापारी निकै रिसाहा थिए । क्रोधका कारण उनी परिवार, मित्रगण र आफन्तजनमाझ पनि अलोकप्रिय थिए । बाहिरी दुनियाँले पनि उनलाई राम्रो नजरले हेर्दैनथ्यो । उनीसितको बस–उठले उनको परिवारका सदस्य पनि बिस्तारै रिसाहा बन्दै गएका थिए । अहंकारको टकराहटले उनको घरको वातावरण नर्कतुल्य बनेको थियो ।
यो सब महसुस गरिरहेका व्यापारी दु:खी भएर एक दिन भगवान् बुद्धको शरणमा पुगे । आफ्नो अवस्थाबारे सबै यथार्थ बुद्धलाई सुनाइसकेपछि उनले क्षमायाचना गर्दै भने– भगवान्, मलाई यस नरकबाट मुक्ति दिनुहोस् । म पनि भिक्षु बन्न चाहन्छु, मलाई दीक्षा दिनुहोस् ।
व्यापारीको याचना सुनेपछि गम्भीर हुँदै बुद्धले भने– अहिले तिम्रो भिक्षु बन्ने समय आएको छैन । भिक्षु कहिल्यै पलायनवादी हुनुहुँदैन । तर, तिमी त परिवारभित्रको समस्याबाट भागेर भिक्षु बन्ने बाटो रोजिरहेका छौ । अब तिमी घर जाऊ र आफ्नो घर सम्हाल । तिमी अरूबाट जस्तो व्यवहारको अपेक्षा गर्छौ, आफू पनि अरूप्रति त्यस्तै व्यवहार गर । यत्ति गर्न सक्यौ भने तिम्रो घर मन्दिर बन्छ ।
भगवान् बुद्धको उपदेश पाएपछि व्यापारी खुसी मनले घर फर्किए । घर फर्किएपछि उनले बुद्धको उपदेशलाई पूर्णत: अपनाए । उनले आफ्नो रिस नियन्त्रणमा राख्दै गए । परिणामत: उनका परिवारका सदस्यका पनि रिस कम हुँदै गयो । यसले उनको घरको वातावरण पनि स्वत: बदलियो । अब परिवारका सबैले आआफ्नो रिस, राग र अहंकार भुलेर आपसमा प्रेम गर्न थाले । छिटै घरको दूषित वातावरणमा नयाँ उल्लास छायो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
