नवलपुर। नवलपुरमा एकैदिन एकै ठाउँमा नौवटा मृग मरेका छन् । जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । सबै मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादी छरेको तोरी खाएर मृगहरु मरेको हुन सक्ने उहाँको भनाइ छ ।
आहारा प्रजातीको मुख्य प्रजाती मानिने मृग एकै पटक ठुलो सङ्ख्यामा मृत फेला परेपछि अनुसन्धान कार्य अगाडि बढाइएको थापाले बताउनुभयो । मृग मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको छ ।
चितवनमा विषादीको परीक्षण गर्ने प्रयोगशाला नभएकाले पोष्टमार्टमको नमूना विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो । चार पाँच दिनमा रिपोर्ट आएपछि मात्र कुन प्रकारको विषादीको प्रयोगले शरीरको कुन अङ्गमा असर गरेर मृत्यु भएको भन्ने एकिन भन्न सकिने थापाले बताउनुभयो ।
मातृभूमि मध्यवर्ती सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीले पनि विषादीकै कारण मृग मरेको आशङ्का गरिएको बताउनुभयो । मरेका नौ मृगमध्ये एउटा बच्चा रहेको छ ।
केही समयअघि रजहरका किसानले काउलीमा अत्याधिक मात्रामा विषादी प्रयोग गरेको पाइएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
