• सोमवार, अशोज १९, २०८३
  • Monday 5th October 2026

क्याविन क्रुमाथि विभेद र निगमको भविष्य


  • प्रजिता कार्की
  • सोमवार, मंसिर २२, २०८२
  • 9.7K
    SHARES

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस । हामी नेपालको हवाई क्षेत्र जोडिएको एक विशेष कार्यक्रमका साथ यो दिवस मनाइरहेका छौं । सुरक्षित आकाश भन्ने नारासहित विश्वले मनाईरहेको यो दिवसमा आज हामी यो नारालाई कसरी भविष्यसम्म दिगो बनाउने भन्नेमा छलफल गरिरहेका छौं ।

हवाई सुरक्षा, नागरिक उड्डयन क्षेत्र, राष्टिय ध्वजावाहक नेपाल वायु सेवा निगम, यसको अवस्था र निगममा कार्यरत सम्पूर्ण क्याविन क्रुका वर्तमान अवस्था, चुनौती र भविष्यमा हुनुपर्ने कामका सन्दर्भमा बहस गर्दैछौं । प्यानल छलफल समेत गर्दैछौं ।

खासगरी क्याविन क्रुले भोग्नुपरेका समस्या, त्यसले समग्र निगममा पारेको असरमा हामी केन्द्रित हुन्छौं । यसका लागि आज हामीसँग विषयगत विज्ञहरु हुनुहुन्छ । सम्बन्धित मन्त्रालय, निगम व्यवस्थापन, नियामक निकाय क्यान, बरिष्ठ पाइलट, अनुभवी क्याविनक्रु, व्यवस्थापक, नीतिगत तहमा काम गर्ने निकाय, समस्या केलाउने र समाधन देखाउने अधिकारकर्मी, सञ्चारकर्मी हामी सँगै छौं ।
सरकारका तर्फबाट माननीय मन्त्रीज्यूसमेत यहीँ हुनुहुन्छ । त्यसैले सिक्यानले गरेको यस्तो कार्यक्रम यो क्षेत्रमा सम्भवत मुलुकमै पहिलो र नौलो हो भन्ने हामीलाई लागेको छ ।

निगमका १७० जना एयरहोस्टेज अर्थात क्याविन क्रु मेम्बरहरुको साझा हक हित, व्यक्तित्व विकास र पेशागत हक हितका लागि सिक्यान निर्माण भएको हो । हवाई सेवा सुधार वा निगमको विकास र सुधारमा जति अन्य पक्षको महत्व छ, त्यति नै क्याविन क्रुको महत्व हुन्छ ।
अन्तराष्टिय हवाई बजारमा प्रतिष्पर्धा गर्न नसकेर खुम्चिरहेको राष्टिय ध्वजावाहक वायु सेवा निगमको व्यापक विकास र विस्तार हुनु जरुरी छ । सँगै स्थापना भएका अन्य मुुलुकका एयरलाईन्सहरु विश्वभर छाएको हामीले देखेका छौं । तर, नेपाल वायु सेवा निगमको पखेटा कति फैलिएको छ ? हामी कहाँ कहाँ उडेका छौं ? हामीसँग कति जहाज छन् ? तिनको व्यवस्थापन कस्तो छ ? उडानको अवस्था, हाम्रो निगमप्रति यात्रुको भरोसा र विश्वास कस्तो छ ? भन्ने यक्ष प्रश्न हामीसँग छन् ।

क्याविन क्रु मेम्बरलाई एयरलाइन्सको सद्भावना दूतका रुपमा हेरिन्छ । ब्राण्ड एम्बेसडरका रुपमा रहेका क्याविन क्रु स्वंले भने विभिन्न असमानता र भेदभाव भोग्नु परिरहेको छ । नियुक्तिका बेला होस्, बढुवा होस्, तलव, भत्तासहित सेवा सुविधामा असमानता भोग्नु परेको छ । निगमको विनिमावलीमा भएको ५० वर्षे उमेर हदको व्यवस्थासमेत कार्यान्वयन गर्न कानुनी लडाई लड्नुपर्ने अवस्था छ ।
क्याविन क्रुले भोग्दै आएको विभेद विरुद्ध हामी सबै मिलेर सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको मुद्धा रिट दायर गरेको र त्यसमा सम्मानित अदालतबाट हाम्रो पक्षमा अन्तरिम आदेश जारी भई मुद्धा विचाराधिन रहेको म यहाँ अवगत गराउन चाहान्छु । त्यस्तै, श्रम अदालतले समेत क्याविन क्रुमाथि विभेद र अन्याय भएको देखाएको छ ।
हाम्रो मूल सरोकार सद्भावना दूत मानिने क्याविन क्रुमाथि वर्षौंदेखि हेरिदै आएको सोच, व्यवहार परिवर्तन गर्नुपर्छ भन्ने हो । क्याविन क्रुको आत्मसम्मानमाथि कहीँ कतैबाट प्रश्न उठाइनुहुन्न । मनोवल कमजोर बनाइनुहुन्न । कमजोर आत्मबल बोकेर, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने गरी क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन् ।
सम्मानित सर्वोच्च अदालतले समेत यी कुरामा प्रश्न उठाई हामीलाई न्याय दिलाउने कामको सुरुवात गरिसकेकोमा हामी खुशी छौं । हामी वषौंदेखि अन्याय र विभेद सहेर गुम्सेर बसेका थियौं । आज क्याविन क्रुका मुद्धा अदालतमा मात्र पुगेका छैनन्, नागरिक तहमा समेत पुगिसकेको छ । मिडियाका पानाहरुमा स्पेस पाउन थालेको छ, अर्थात सार्वजनिक सरोकारका विषय बनिसकेका छन् ।
क्याविन क्रुको पनि पाइलट वा अन्य कर्मचारी सरह उमेर हद हुनुपर्छ । विनियमावलीमा हाल भएको ५० वर्षे उमेर हदलाई समेत निगमले पूर्णतः कार्यान्वयन गर्न नसक्नु दुखद हो । ४५ वर्षपछि घर पठाउन खोज्नु अन्याय हो । विभेद हो । जागिर खाने उमेरको बेलामा अवकास पायौ भनेर घर पठाउनु कुनै हिसाबले राम्रो मानिदैन । एउटा क्याविन क्रु उत्पादन गर्न निगमले दर्जनौं अन्तराष्टिय तालिम गराएको हुन्छ, लाखौं सरकारी रकम खर्च गरेको हुन्छ । त्यसलाई सही ढंगले निगमका हितमा नलगाई घर जा भन्नु राष्टिय सम्पत्तिको दुरुपयोग समेत हो । सिक्यानले यो कुरा उठाइरहनेछ ।

अहिले देशले परिवर्तन खोजेको छ । युवा पुस्ता, जेन्जी पुस्ताको बलमा राज्यका सबै निकायमा सुधारका पहलहरु भइरहेका छन् । निगमभित्र वर्षौैदेखिको वेथिति, भ्रष्टाचार, इन्जिन भाडाका विवाद काण्डका रुपमा नेपाली जनताले देख्नुपर्ने अवस्थाको अन्त हुनैपर्छ । सार्वजनिक निकायमा अति नै वेथिति भएर जेन्जी पुस्ता सडकमा उत्रनुपरेको हामीले विर्सेका छैनौं । त्यहाँभित्र भ्रष्टाचार छ, नेपो वेवी टेन्ड छ, अव त्यसलाई रोक्नुपर्छ भन्ने सन्देश मात्र होइन, व्यवहारमै हामीले साथमा साथ, हातमा हात मिलाएर अघि बढ्नुपर्छ । क्याविन क्रुको व्यवस्थापनमा निगमले अब गम्भीर भएर सोच्नुपर्छ । सेवा सुविधामा विभेद मात्र होइन, कार्यस्थलमा समेत विभेदकारी नीति हुनुहुन्न ।
अब क्याविन क्रुको बेग्लै विभाग हुनुपर्छ । क्याविन क्रुलाई अन्य प्राविधिक विभागमा जोडिरहँदा हाम्रा समस्या बेलैमा सुनुवाई हुन नसकेको हो । आधा जस्तै संख्या जेन्जी पुस्ताको रहेको क्याविन क्रुका मागप्रति निगम र राज्य जति सकरात्मक बन्यो, त्यति हवाई क्षेत्रको सुधार सम्भव भएको म यहाँ अवगत गराउन चाहान्छु ।
निगमको कर्मचारीका रुपमा अन्तराष्टिय उडानमा हामी पुगिरहँदा अरु देशका विमान सेवाको प्रगति, त्यहाँका क्याविन क्रुप्रतिको सम्मान र सुविधा हामीले आँखैले देखेका छौं । नेपाल वायु सेवा निगमले पनि अब फड्को मार्नेपर्छ । निगमको सुधार र विकास देश र जनताको विकास, नेपाली कला, संस्कृति र समग्र पर्यटन जगतको विकाससँग जोडिएको छ । यही कुरामा केन्द्रित गर्नका लागि सिक्यानले आज राज्यका सबै पक्ष जोडिएको कार्यक्रम गरेका हो ।
यी हाम्रा सरोकार वा माग मात्र होइनन्, वायु सेवा निगम र समग्र हवाई उड्ययन क्ष्ाँत्रको विकास र सुधार जोडिएका मुद्दा हुन् । वर्षौंदेखि क्याविन क्रुले भोग्दै आएका समस्या र विभेद अन्त हुँदा मात्र सिंगो एयरलाइन्स फैलिन सक्छ । अनि साँच्चै क्याविन क्रु सद्भावना दूतका रुपमा विश्वभर उड्न सक्नेछन् ।
आजको कार्यक्रमको ओज र गरिमा समेत बढ्नेछ ।
नव आगन्तुक क्याविन क्रुका मेम्बरहरुलाई स्वागत गर्दै बधाई भन्न चाहान्छु ।

(कार्की नेपाल वायु सेवा निगम, क्याविन क्रु एशोसिएसन (सिक्यान)को अध्यक्ष हुनुहुन्छ । यो आलेख कार्कीले अन्तराष्टिय नागरिक उड्डयन दिवसको सन्दर्भ पारेर सिक्यानले काठमाडौंमा आयोजना गरेको क्याविन क्रु र निगमको आगामी यात्रा सम्बन्धी कार्यक्रममा दिएको मन्तब्यको सम्पादित अंश हो ।)

 

 

 

 

प्रतिक्रिया