• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

किसानले पाए चार अर्ब भुक्तानी


  • खुला नेपाल
  • मङ्लबार, मंसिर २३, २०८२
  • 1.5K
    SHARES

काठमाडौँ । लामो समयदेखि रोकिएको किसानको दुधको रकम भुक्तानी भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दुध खरिद गरेको बाँकी रहेको करिब चार अर्ब पियाँ भुक्तानी गरेका हुन् ।

डेढ अर्ब भुक्तानी गर्न बाँकी रहेको डिडिसीले एक अर्ब रुपियाँ भुक्तानी गरिसकेको जनाएको छ । त्यस्तै निजी डेरीले करिब तीन अर्ब भुक्तानी गरेका छन् ।

दुध बेचेको रकम लामो समयसम्म नपाउँदा किसान मारमा परेका थिए । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले साउनसम्मको रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो ।

तीन महिनाको ४५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मौज्दातमा रहेको पाउडर (धुलो दुध) र बटर बेचेर किसानको बाँकी रकम भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । डिडिसीसँग अझै तीन लाख केजी बटर र चार लाख केजी पाउडर मौज्दात छ । मौज्दातमा रहेको पाउडर र बटर बिक्री गरेर बाँकी रहेको किसानको रकम भुक्तानी गर्दै जाने डिडिसीले जनाएको छ । हाल बजारमा प्रतिकेजी बटर आठ सय रुपियाँ र पाउडर प्रतिकेजी सात सय रुपियाँ रहेको छ ।

हाल दैनिक एक लाख लिटर दुध सङ्कलन गरिरहेको डिडिसीले जनाएको छ । हाल दैनिक बजारमा ८० हजार लिटर दुध बिक्री हुने र बाँकी रहेको २० हजार लिटर दुधको पाउडर बनाएर राख्ने गरेको डिडिसीले जनाएको छ । पाउडर बनाएको दुध अफ सिजनका बेला बिक्री हुने गरेको छ ।

प्रतिक्रिया