• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कथासहितको कला


  • खुला नेपाल
  • आइतवार, मंसिर २८, २०८२
  • 1K
    SHARES

सिन्धुली । कलाकार विश्वम्भर लामिछाने हरेक रुख, बोटबिरुवाको जरा र हाँगालाई विशेष रूपमा नियाल्नुहुन्छ । त्यसलाई सुमसुम्याउनुहुन्छ । सफा गर्नुहुन्छ । त्यसमा विभिन्न भाव सन्देशसहितको विम्ब खोज्नुहुन्छ वा परिकल्पना गर्नुहुन्छ । परिकल्पनालाई साकार पार्न सामान्य काँटछाँट, ताछतुछ गरेर रङरोगन भरेर एउटा विस्तृत कथासहितको अद्वितीय कला सिर्जना गर्नुहुन्छ । कथासहितको कला तयार भएपछि आत्मसन्तुष्टिसहित मुस्कुराउनुहुन्छ । प्रेमसहित आफ्नो सङ्ग्रहालयमा एउटा अतुलनीय र अद्वितीय कला थप्नुहुन्छ ।

कला बनाउने कुनै औपचारिक शिक्षाबिना उहाँले तयार पार्नुभएका सयौँ कला अहिले देश विदेशका कलाप्रेमीका नजरमा उत्कृष्ट र अद्वितीय साबित भइरहेका छन् । विश्वम्भर भन्नुहुन्छ, “कसैले मलाई यो कला मन प¥यो यस्तै अर्को बनाइदेऊ न भने म बनाउन सक्दिनँ । यहाँका हरेक कला ‘वान पिस’ हुन्छन् । उस्तै अर्को बनाउन सक्ने सामथ्र्य ममा छैन । किनकि यी कला मैले बनाएका होइनन्, प्रकृति सृजित हुन् । मेरो मनमस्तिष्कले ती बोटबिरुवाका प्राकृतिक जरा तथा हाँगामा विम्ब मात्र भरेको हुन्छ ।” उहाँ कुनै बोटबिरुवाको जरा हाँगाबिँगा पाएपछि त्यसमा आफ्नो सोच, त्यस समय मनमा उब्जेका भाव र चिन्तनलाई विम्बात्मक रूपमा प्रस्तुत गरेर कलालाई सुन्दर रूप दिन तल्लीन रहनुहुन्छ ।

विश्वम्भरको सङ्ग्रहालयमा राखिएका जर्बुटा कलाले साँच्चै प्रकृतिको गहिराइ, मानव जीवन चक्रका आयाम, मानव मनका जटिलता, आवेगलाई समेटेको अनुभूति गर्न सकिन्छ । ती कलामा दृश्यात्मक सौन्दर्य मात्र नभई जीव र प्रकृतिबिचको अटुट सम्बन्ध र भावनात्मक अन्तर्क्रियालाई पनि आत्मसात् गरे झैँ लाग्छ ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ४ ढकाल गाउँमा रहेको उहाँको आफ्नै निवासमा बनाइएको सङ्ग्रहालयमा राखिएका वनमाराको जरा होस् वा चियाबोटका जरादेखि विभिन्न ठुलासाना रुख बोटबिरुवाका जरा र हाँगालाई नियाल्दा भिन्न भिन्न भावात्मक अवस्था, सोच चिन्तन, आशा, अपेक्षा जडित भएको देख्न सकिन्छ ।

प्रतिक्रिया