काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।
बिहीबार महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको शपथग्रहणलगत्तै पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्षमा निर्वाचित ओलीले यस्तो चेतावनी दिएका हुन् ।
उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए । उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए ।
एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी उनले दिए ।
यस्तो छ ओलीको भनाइ :
नेकपा (एमाले) को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरूको फेरि थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुन सक्दछ । म तपाईंहरूलाई भन्न चाहान्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार । यसका निम्ति नेकपा (एमाले) ले देशभरिबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुनु महँगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
