काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब मञ्चका प्रवक्ता शरिफ उस्मान हादीको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
टाउकामा गोली लागेर गम्भीर घाइते भएका हादी ६ दिनसम्म जीवन–मृत्युसँग संघर्षरत थिए । उनको मृत्युपछि देशभर शोक, आक्रोश र विरोध प्रदर्शन सुरु भएका छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले एक दिनको राष्ट्रिय शोक घोषणा गर्दै दोषीहरूलाई चाँडै पक्राउ गर्ने वाचा गरेका छन् ।
उस्मान हादीमाथि गत हप्ता अज्ञात आक्रमणकारीहरूले टाउकामा गोली हानेका थिए । अवस्था गम्भीर भएपछि उनलाई सिंगापुरको अस्पतालमा भर्ना गरिएको थियो ।
हादी जुलाई आन्दोलनका अग्रपंक्तिका नेता मानिन्थे । अहिलेको राजनीतिमा उनको भूमिका निकै महत्वपूर्ण थियो । उनको मृत्युलाई आन्दोलनमाथिको आक्रमणका रूपमा हेरिएको छ ।
हसिनाका कट्टर विरोधी उस्मान हादी को हुन् ?
हादी गत वर्ष विद्यार्थी नेतृत्वको हिंसात्मक विरोध प्रदर्शनका प्रमुख नेता थिए । यही आन्दोलनले अगस्ट ५ मा शेख हसिनाको नेतृत्वमा रहेको आवामी लिग सरकार ढालेको थियो । आगामी चुनावमा उस्मान हादी उमेदवारसमेत थिए ।
युनुसले राष्ट्रिय शोक घोषणा गरे
हादीको मृत्युपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हादी जुलाई आन्दोलनका निडर योद्धा भएको र उनको हत्या अत्यन्त दुःखद भएको बताएका छन् ।
युनुसले हत्याराहरूलाई कुनै हालतमा पनि नछाड्ने आश्वासन दिएका छन् । उनले एक दिनको राष्ट्रिय शोक घोषणा गर्दै हादीकी पत्नी र एकमात्र सन्तानको आर्थिक जिम्मेवारी सरकारले लिने बताएका छन् । नागरिकहरूलाई शान्ति र संयम कायम राख्न अपिल गरेका छन् ।
विद्यार्थी र सर्वसाधारणको प्रतिक्रिया
हादीको मृत्युपछि राजधानी ढाकाको शाहबाग चोकमा ठूलो संख्यामा विद्यार्थी र सर्वसाधारण भेला भएका छन् ।
प्रदर्शनकारीहरूले नारा लगाउँदै हादीको न्यायको माग गरेका छन् । बंगलादेश नेशनलिस्ट पार्टी र जमात–ए–इस्लामीले पनि उनको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।
इन्किलाब मञ्चले आक्रमणकारीहरू पक्राउ नपर्दासम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ । आवश्यक परे देश ठप्प पारिने जनाएको छ । मञ्चले आरोपीहरू भारत भागे पनि भारत सरकारसँग समन्वय गरेर फर्काइने दाबीसमेत गरेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
