• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बाल संगठनको सम्पत्ति दुरुपयोग रोक्न मन्त्री गुरुङको निर्देशन


  • खुला नेपाल
  • सोमवार, भदौ २२, २०७७
  • 5.5K
    SHARES

 

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल बाल संगठनको स्वामित्वमा रहेका चलअचल सम्पत्तिको अभिलेख राखि त्यसको दुरुपयोग हुन नदिन संगठनका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

संगठनको अचअचल सम्पत्तिको चरम दुरुपयोग भएको अभियोग लागेपछि संगठनको केन्द्रिय कार्य समिति हालै विघटन गरी विद्या उपाध्याय न्यौपाने अध्यक्ष रहेको नयाँ तदर्थ समिति गठन गरिएको थियो ।

सोमबार काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन, केन्द्रिय कार्यालयको अनुगमन गर्ने क्रममा उहाँले बाल गृहहरुको सुधारका लागि पनि संगठनको पुरानो कार्य समिति विघटन गर्नु परेको बताउनु भयो ।

उहाँले अनुगमनका क्रममा त्यहाँ रहेको बाल गृहको अवस्थाबारे पनि जानकारी लिनु भएको थियो ।
उहाँले अनाथ बालबालिकाहरुको संरक्षणका लागि ‘एकीकृत बाल संरक्षण’ नीति ल्याउने घोषणा पनि गर्नु भएको छ ।

मन्त्री गुरुङले अनाथ तथा असहाय बालबालिकाहरुको संरक्षण सरकारको प्रत्यक्ष निगरानीमा हुने गरी सो नीति ल्याउने योजना तय गरिएको पनि स्पष्ट पार्नु भयो ।
बाल संरक्षणको कामलाई सरकारले राष्ट्रिय गौरवकै आयोजनाको रुपमा अघि बढाउन लागेको पनि बताउनु भयो ।

‘बालबालिकाहरुको संरक्षणको नाममा धेरै बालगृहहरु खुले पनि त्यसले उचित संरक्षण दिन सकेको देखिदैन,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यसैले सरकारले ती सबै बालगृहहरुलाई आफ्नो मातहतमा ल्याई उचित संरक्षणको व्यवस्था गर्न ‘एकीकृत बाल संरक्षण नीति’ ल्याउनैपर्ने भएको हो ।’

यसैबीच, मन्त्री गुरुङले नेपाल बाल संगठनको नक्सालस्थित केन्द्रिय कार्यालयमा कोरोना महामारीबाट बचाउनका लागि ‘होम क्वारेन्टाईन’ को व्यवस्था गर्नु हुने भएको छ ।

संगठनकी अध्यक्ष न्यौपानेले मातहतका १९० जना संरक्षित बालबालिकाहरुको लागि ‘होम क्वारेन्टाईन’को व्यवस्थाका लागि सहयोग गर्न मन्त्री गुरुङसँग आग्रह गरेपछि मन्त्री गुरुङले त्यसका लागि तत्काल आवश्यक आर्थिक सहायता उपलब्ध गराउने बताउनु भएको हो । त्यस लगत्तै मन्त्री गुरुङले सो होम क्वारेन्टाईनको व्यवस्थाका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउन राष्ट्रिय बाल अधिकार परिषदलाई निर्देशन दिनु भएको छ ।

नक्सालस्थित संगठनको केन्द्रिय कार्यालयमा हाल ८४ जना संरक्षित बालबालिकाहरु रहेका छन । मन्त्री गुरुङले उनीहरुको संरक्षणमा कुनै कमी हुन नदिन पनि संगठनका पदाधिकारीलाई आग्रह गर्नु भयो । संगठनको मातहतमा देशभर १० वटा बालगृहहरु रहेको राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले बताउनुभयो ।

 

प्रतिक्रिया