• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

नेपालमा कोरोना निको हुने दर सार्क मुलुकहरूमा सबैभन्दा कम


  • खुला नेपाल
  • सोमवार, अशोज १२, २०७७
  • 4.1K
    SHARES

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् ।

सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत छ । त्यसपछि तेस्रोमा माल्दिभ्स छ । त्यहाँ निको हुने दर ८६.६ प्रतिशत छ । त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ । नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै डिस्चार्ज भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधि प्रयोग गरिरहेको हुन सक्ने बताउँनुहुन्छ । ‘ बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका पनि छन् । त्यसकारण पनि नेपालबाहेकका मुलुकमा कोरोनाबाट निको हुने दर बढेको हुन सक्छ’, डा. मरासिनी भन्नुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो देखिएको बताउँनुहुन्छ । ‘रोग लाग्नबाटै जोगाउने कार्यलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ’, डा. प्याकुरेल भन्नुहुन्छ, ‘संक्रममण भइहाल्यो भने पनि तुरुन्तै उद्धार गरी उपचारमा पहुँच पुर्‍याउनुपर्छ।’

प्रतिक्रिया