• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

‘रहर त सबैको हुँदो हो’


  • खुला नेपाल
  • शनिबार, मंसिर २७, २०७७
  • 15.2K
    SHARES

कवि
सब पावन छन् सपना जगमा
अझ सार्थक झैँ छु यहाँ नगमा
हर कार्य छ दूर भनी नबुझून्
कवि सागर झैँ रसिला मन हुन् ।१।

रचना नगरी मन भुल्छ कहाँ
मन घुल्न सके बिरलै नभमा
दिलमा नवदीप म बाल्न सकूँ
कविकाव्य रसामृतझैँ म बनूँ ।२।

कविको कविता भरिलो छ अति
जति बुझ्न सक्यो उति हाँस्छ मति
गह भिज्न म दिन्न भनी रहलान्
तब थामिन नै नसकी बहलान् ।३।

रचिए कविता म ठुलो नभनी
पढिए कविता रसिलो धमनी
शिर उठ्छ कहाँ कसरी म भनूँ
कविकाव्य सधैँ रसमा म परूँ ।४।

कवि सागरझैँ गुणमा बुझिए
रविचन्द्र समान गुनौँ मनले
हँसिलो रसिलो नबने कसरी
रस पारख भै रहलान् त्यसरी ।५।

सिर्जना खनाल, भैरहवा, रुपन्देही

 

बाल खेल
आऊ हामी छुकछुके रेल खेलौं साथी
समाएर हाम्रा हात जाऔं माथि माथि।
तिमी पनि आऊ साथी खेल मैदानमा
तिम्रो बाटो कुर्दा कुर्दा पर्यौं हैरानमा।।

आऊ मुना आऊ रमा आऊ सानी पनि
मनमाया फूलमाया आऊ आनी पनि।
ठूलो डोको बिसाएर आऊ रीता दिदी
चूलोभान्सा सकाएर आऊ सीता दिदी।।

आऔं सबै एकै छिन खेलौं रमाउॅदै
गोलो घेरो बनाऔं है हात समाउॅदै।
अघि अघि म हिॅडौला मेरो पछि सानी
नछुटाई सबै साथी यसरी नै जानी।।

अनि साथी हामी जॉऔं ढिकाच्यॉउ खेल्न
तिमी बस एकातिर म आँऔंला पेल्न।
घरी तिमी तल जौली घरी जौली माथि
यसै गरी खेलौंला नि पालो साथी साथी।।

सबको पालो सके पछि लुकी डुम खेलौं
डुम बन्ने साथीसॅग आफूलाई छेलौं।
खोजी गर्ने साथी गई बीससम्म गन्ने
लुक्न जाने साथीलाई छिटो लुक भन्ने।।

घनश्याम पौडेल, पोखरा

 

पापको सिकार नबनौं

पापको सिकार नबनौं
धर्म केमा पाइन्छ बुझेर लाग्नुपर्छ
यो जुनी धिक्कार नबनौं ।

फलको आशा नगरी कर्म गर्दै जाउ
एकदिन पक्कै पनि तिमी अवश्य सफल हुनेछौं
जहा राम्रो हुन्छ त्यहा धर्म गर्दै जाउ ।

भ्रष्टाचारीले सिंहदरबार अछुतो बनायो
अब के गर्नु होला हामीहरु साह्रै बेबकुफ भयौं
भोट दिएर नै जनतालाई पछुतो बनायो ।

मखमली माला उने तिहारलाइ
दाजुलाइ बोलाएर आफ्नै सन्सार छाउछु
देउसी भैली गुने तिहारलाइ

सोचेको कुरा सबै पुरा होस
भवतु सब्ब मङ्गलम कसैको कुभलो नचिताऔ
सबैमा राम्रो राम्रो कुरा होस ।

सरिता तुलाधर, बिराटनगर

दायित्व

उ र म सँगसँगै थियौं
त्यो बेला जब
हामी दिनमा हिड्दैन्थ्यौं
बढी सुरक्षित लाग्थ्यो
रातिको सुनसान बाटो
हाम्रो बस्ती हाम्रो माटो

यस्तो होइन कि
दिन हाम्रो शत्रु थियो
बरु, दिउँसो शत्रु हामीलाई
भेट्ने समभावना बढी हुन्थ्यो
त्यसैले रात नै हाम्रो दिन थियो
दिन थियो केवल विश्राम गर्नलाई

तर अहिले अवस्था फेरिएको छ
हामी दुबैलाई परिवारवादले घेरेको छ
उ राष्ट्रको ढुकुटी सिध्याएर
सन्तान प्रतिको कर्तव्य पूरा गर्दैछ
म , भ्रष्टाचार विरुद्ध कलम सोझ्याएर
पारिवारिक दायित्व निर्वाह गर्दैछु ।।


बैद्यनाथ ठाकुर
प्रगतिनगर- ३, वीरगन्ज
२०७७ मंसिर २६

 

बिर्सेर बिर्सिँदैन
मेरा यी नसमा बहन्छ सहजै नेपालको रक्त नै
मैले फेर्दछु स्वास नित्य रुपमा नेपालकै स्वास नै
टेक्ने भूमि यही भए अरु कतै खोजेर भेटिन्छ र ?
यो नेपाल सधैँ रहन्छ मनमा बिर्सेर बिर्सिन्छ र ?

आमा बाबु जसै बसे मनभरी उस्तै छ मेरो धरा
खाना बास कपास दिन्छ यसले लिन्छौँ सदा आसरा
मेरो यो मुटुको अकाट्य ममता जोखेर जोखिन्छ र ?
यो नेपाल सधैँ रहन्छ मनमा बिर्सेर बिर्सिन्छ र ?

यो आफैँ चुलिएर भो हिमचुली अग्लो नमूना यहाँ
फक्रेका फुल छन् गुराँस जसरी त्यस्तै छ डाँफे यहाँ
हाम्रो यो पहिचान के कम छ कैँ छेकेर छेकिन्छ र ?
यो नेपाल सधैँ रहन्छ मनमा बिर्सेर बिर्सिन्छ र ?

जन्मे बुद्ध यहीँ छरे किरण ती संसार नै ढाकियो
हो श्रद्धास्थल लुम्बिनी भुवनको श्रद्धा त्यहीँ झल्कियो
गाथा गौरवको चुलिन्छ यसरी तर्केर तर्किन्छ र ?
यो नेपाल सधैँ रहन्छ मनमा बिर्सेर बिर्सिन्छ र ?

यो भौगोलिक सूक्ष्मता बिच यहाँ अट्छन् अनेकौँ विधा
सानो यो मनमा रमेर जसरी बस्दैछ संसार ता
हो आफ्नै घर निर्विकल्प मनको हच्केर हच्किन्छ र ?
यो नेपाल सधैँ रहन्छ मनमा बिर्सेर बिर्सिन्छ र ?

यज्ञलाल सुबेदी, बुटवल, रुपन्देही

आमा

आमा शब्द कठै छ प्यार रसिलो सन्तानका खातिर
आमा यी घरकी सबै जगतकि तारा बनीन् आखिर
मेलापात चुलो र सीप सबमा खट्छिन् सबै काममा
सारा राष्ट्र चलाइ हिम्मत कसी बढ्र्दैछिन् सम्मानमा ।१

पेशामा कटिबध्द भै समुनता ल्याउन सक्छिन् यिनी
आफ्ना सन्ततिको गरी जतनले सम्हाल्न सक्छिन् यिनी
मायामा मुटु यो पगालि जनमा बर्षाइ दिन्छिन् जल
पार्छिन् चट्ट बनाइ बालपनको चासो राखि हर्पल ।।२

बालादेखि बुढा समालि घर त्यो राख्छिन अत्ति सुन्दर
माया त्यो बहुतै दिएर जगमा पार्छिन् मनै स्थिर
सत्कारै मनले गरेर परको सम्मान जो गर्दछिन्
पीडा ती सहनै गरीकन यिनी हाँसेर नै रम्दछिन्।।३

नारी नै नभए यही जगतमा होला त कस्तो अहो
जस्ले गर्दछ काम यो भुवनमा दोषी उही नै भयो
गर्छौ के यिनका कुरा फगतमा मिथ्या होला सज्जन
आफ्नैले नगरौ बखान यिनको हुन राष्ट्रका यी धन।।४

अत्याचार नहोस, है अब यहाँ यो पर्वको माग हो
मान्छे ब्र्यर्थ कबै नबन्नु पशुझैँ भ्रष्टै भए पाप हो
आफ्नो जो अधिकार मिल्छ सहजै सेवा गरौँ राष्ट्रको
हिंसाले मति भ्रष्ट छन् यदि भने अन्त्य गरौँ दुष्टको।।५

सुन्दरी घिमिरे खतिवडा
खाँदबारी– ७, संखुवासभा

प्रण
नारीक‍ो अस्तित्व दिनेलाई
शुभकामना चढाई दिने छु
हक, अधिकार, इज्जतलाई
नारी समक्ष पुर्याई दिने छु

कुरीतिबाट आएको प्रथालाई
नयाँ धारणाले हटाई दिने छु
कालका मुखको जिन्दगीलाई
औषधि लगाइ बचाई दिने छु

पीडामा भएका जिन्दगीलाई
बिहानी किरण ल्याई दिने छु
कठोर जिन्दगी बिताउनेलाई
प्रणय सुख दिलाई दिने छु

तार छिनेका गिटारलाई
मर्मत गरि बजाई दिने छु
सिमा नभएको जमिनलाई
सिमाका रेखा कोरी दिने छु

आशा नभएको त्यो हृदयलाई
आशातित नि तुल्याई दिने छु
वर्षा भेल भइ बगी रहनेलाई
ऋतु पनि बदलाई दिने छु

क्षणमा बदलिने यौवनलाई
स्थिरता पनि दिलाई दिने छु
कुदृष्टी हेला भावले हेर्नेलाई
जकेडी दण्ड पिलाई दिने छु ।

अम्बिका खरेल उप्रेती, विराटनगर– १२

बाँच्न चाहन्छु !

तिमी बिना बाँच्न सक्दिन
म कसरी कहाँ भन्न सक्छु
तिमी नै मेरो धड्कन हो
हरेक स्पन्दन गन्न सक्छु

तिमी बिना जीवन छैन मेरो
सधैभरि तिम्रै नै बन्न सक्छु
जीवन कागज को दस्ताबेज हैन
त्यसैले तिमीमै हराउन सक्छु

भावनामा बगेर पनि म
कठोर निर्णय लिन सक्छु
हातमा लेखेको भाग्यलाई
तिम्रो साथ भए बदल्न सक्छु

तर के गर्ने मेरो हजुर
तिमिले सोचे जस्तो हुन सक्छु
मायाको परिधिमा बसेर
साच्चै मायाकै लागि मर्न सक्छु

सीता शर्मा, वीरगन्ज

संयोजन : गंगा दाहाल

प्रतिक्रिया