सबै घटनाको केन्द्रविन्दुको रुपमा सम्पत्ति प्राप्ति, खानु, लाउनु र यौनजन्य विषय नै रहेको छ । यी सबै मानव जीवनका सबैभन्दा निकृष्ट आवश्यकता हुन् ।
जुनसुकै तहमा देखिएका द्वन्द्वको मूल कारण स्रोत, साधन र शक्तिको वितरण, पहुँच र उपयोगमा आधारित हुन्छ । महिला हिंसा पनि प्राथमिक रुपमा व्यक्तिगत तहबाटै सुरु हुन्छ । कमजोर वर्ग बढी जोखिममा पर्ने प्राकृतिक नियमअनुसार विगतदेखि वर्तमानसम्मका सामाजिक संरचना, लैङ्गिक भूमिका स्रोत साधनमा पहुँचका कारणले महिलाको कमजोर सामाजिक उपस्थिति नै घरेलु र संस्थागत रुपमा महिला हिंसाको जड बनेको छ । हत्या, कुटपिट, आगजनीमात्र नभएर भावनामा चोट पुग्ने तथा मनोवैज्ञानिक त्रास देखाउने व्यवहार पनि महिला हिंसाको परिभाषाभित्र समेटिएको सन्दर्भमा हाम्रो परिवेशमा महिला हिंसाको गहिराई नाप्न अनुमानमात्र गरे पुग्छ ।
हिंसाका घटनाको कारण विश्लेक्षण गर्दा अधिकांश घटना शारीरिक आवश्यकतासँग जोडिएका हुन्छन् । जस्तैः खाना, नाना, छाना र यौन । त्यसपछि अन्य कारणमा स्रोत, साधन, पहुँच र अधिकार, जुन सामाजिक कारणमा पर्छन् तर यी सामाजिक मुद्दामै महिलाको कमजोर उपस्थितिले शारीरिक हिंसाको जोखिममा महिला बढी छन् । र जबसम्म व्यक्तिगत चेतनाको जोडले निर्माण हुने हाम्रो सामाजिक चेतनाको स्तरले शरीर र मनको तहबाट माथि उक्लिने चेष्टा गर्दैन तबसम्म नीति र कानुनले मात्र स्वस्फूर्त महिला हिंसा कम भई समानतामा आधारित सम्मानजनक समाज निर्माण हुँदैन् । भलै महिला हिंसाबिरुद्धमा कडा सजाय दिन सकिएला वा दण्डको भयले हिंसा कम गराउन सकिएला । तर पनि दमित समानतामा स्वतस्फूर्त समानतामा जस्तो प्रेम, करुणा, मिलन र सम्मान नभई विखण्डन र प्रतिस्पर्धा बाँकी नै रहन्छ ।
आध्यात्ममा लैङ्गिक भिन्नता शरीर र मनको तहमा मात्र हुन्छ भनिन्छ । आत्माको तहमा पुगेपछि लैङ्गिक पहिचान नै हुँदैन भन्ने तर्कलाई भ्रुणको लिङ्ग पहिचान शरीरको आकार बनेपछि मात्र हुने वैज्ञानिक तथ्यले पुष्टि गर्छ । तसर्थ शरीरको आधारमा हुने हिंसाको यो कहालिलाग्दो अवस्थालाई हाम्रो आध्यात्मिक चेतनासँग जोडेर हेरे सामाजिक मूल्य, मान्यता र व्यवहार, सार्वजनिक नीति निर्माण, शिक्षा प्रणाली परिवर्तनमा विश्लेषण गर्न नयाँ आयाम थपिने थियो ।
पूर्वजन्मको संस्कार, ब्रम्हाण्डीय स्रोत, वर्तमान आचरण र विचारबाट सिर्जित समग्र ऊर्जा हाम्रो नाभिकेन्द्रको वरिपरि जमेर बसेको हुन्छ । स्वाभाविक रुपमा त्यो ऊर्जा तल बग्ने स्वाभावको हुन्छ । शारीरिक विकृति भएका बाहेक सबै मान्छेहरू खानपान तथा प्रजनन कार्यमा स्वाभाविक रुपमा सक्रिय हुन्छन्, यसको लागि मूलाधार चक्र सक्रिय हुनुपर्छ । त्यसैगरी मनोरन्जन गर्ने, घुमफिर गर्ने, मीठो मीठो खानुपर्ने स्वाभावका लागि स्वाधिष्ठान चक्र सक्रिय हुनुपर्छ । यसमा पनि अधिकांश मान्छेहरू स्वतस्फूर्त रुपमा सक्रिय हुन्छन् । नाभिकेन्द्रदेखि तल रहेका मूलाधार र स्वाधिष्ठान चक्र स्वस्थ मान्छेमा कुनै र कुनै रुपमा आफैं सक्रिय हुन्छन् । तर आध्यात्मिक चेतना भएको व्यक्तिमा यी व्यवहारको प्रस्तुति सालिन, सभ्य र संयक हुन्छ भने कुनै पनि आध्यात्मिक चेतनाको अभावमा यिनको सक्रियता हिंसात्मक र जंगली हुन्छ । हो, यसैको परिणाम हो महिला हिंसा । नाभिकेन्द्रदेखि माथिका अन्य मणिपुर, अनाहद, विशुद्धि, आज्ञा र सहस्त्रार चक्रहरू र तीनको नतिजास्वरुप आउने प्रेम, करुणा, साहस, अनुशासन, मीठो बोली, प्रतिबद्धता, समग्रतामा जीवन जीउने उन्नत कला र जीवन जगतको बोध गर्ने क्षमता कति सक्रिय छ र हुनसक्छ भन्ने कुरा चाहिँ पूर्वजन्मको संकार र वर्तमान जीवनको साधनामा निर्भर हुन्छ ।
अब कुरा गरौं आध्यात्मिक चेतनाको अभावमा कसरी महिला हिंसा हुन्छ भन्ने विषयमा । धेरै घरमा घर झगडाको कारण मूल कारण सम्पत्ति र सम्पत्तिबाट प्राप्त हुने सुविधा र सम्पन्नताको प्रलोभन नै हुन्छ । विशेषगरी तराई क्षेत्रमा दहेजको कारणले दिनहुँ युवतीहरू जलाएका घटना सुनिन्छन् । छोरोको मृत्यु भयो भने बुहारीलाई अंश दिनु पर्छ भनेर घरबाट निकालेका वा अर्को लोग्ने मानिससँग बात लगाएर गाउँ निकाला गरेका कथाहरू अनगिन्ती छन् । विविध प्रस्ताव अस्वीकार गरेको आवेगमा एसिड छ्यापिएका युवतीका समाचार यत्रतत्र पढिन्छन् । छोरा नजन्माएको आरोपमा कति श्रीमती र बुहारीहरूले खप्नुपरेको शारीरिक र मानसिक यातना बेहिसाब छन् । रक्सी खाएर कुट्ने, गाली बेइज्जति गर्ने विषयलाई त सामान्य मानिन्छ । श्रीमती अर्को लोग्नेमान्छेसँग लागेको आशंकामा कुटपिट र हत्यासम्मका घटनाहरू भएका छन् भने दुई महिनाका बालिकादेखि नब्बे वर्षकी हजुरआमासम्म बलात्कार र बलात्कारपछि हत्याको शिकार भएका छन् । वैवाहिक बलात्कारका घटनासम्बन्धी उजुरीको बढेको चाङ देख्दा विवाह प्रेम र सम्बन्धको विस्तारभन्दा कुण्ठा, पीडा, असन्तुष्टि, शोषण र संघर्षको अर्को नाम बनेको छ । यी सबै घटनाको केन्द्रविन्दुको रुपमा सम्पत्ति प्राप्ति, खानु, लाउनु र यौनजन्य विषय नै रहेको छ । यी सबै मानव जीवनका सबैभन्दा निकृष्ट आवश्यकता हुन् । जुन आवश्यकता पशुको पनि हुन्छ । यिनै पशुवत् आवश्यकता पूरा गर्न मान्छे आफूलाई पशु नै बनाउँदै छ ।
सरकारका नीतिहरूको कुशल कार्यान्वयन, समाजको लैङ्गिक संरचना फेरबदलमा सरकारको प्रत्यक्ष हस्तक्षेपकका अतिरिक्त आध्यात्मिक जागरण, शरीरमा ऊर्जा केन्द्रको जानकारी र तीनको सक्रियताका लागि आध्यात्मिक साधना र हरेक व्यक्तिको सहअस्तित्वप्रतिको समभावको बोध नै महिला हिंसा निवारणको उपाय हो ।
एकजना पारिवारिक मनोचिकित्सकले भनेको कुरा म सम्झन्छु, वैवाहिक सम्बन्धमा आएका अधिकांश मनमुटावको कारण खोतल्खै जाँदा अन्तिममा विवाह इतरका सम्बन्धहरू, यौन असन्तुष्टि वा यौनहिंसामै पुगेर कुरो टुङ्गिने देखिएको छ । आर्थिक र सामाजिक हैसियत न्यून भएका व्यक्तिको कुरा छाडौं, उच्च वर्गका मानिने घरपरिवारका कथा पनि शरीर र मनभन्दा माथि उठेको छैन । घर बाहिर निस्किएपछिका शंका, अन्य व्यक्तिसँगको सम्बन्धको शंका, एकअर्काप्रतिको विश्वासको संकट, आफूप्रतिको प्रतिबद्धतामा कमी आउला कि भन्ने डर, घरप्रति जिम्मेवार नभएको आरोप, सासू–ससुरा, छोराछोरी, लोग्नेप्रति बेवास्ता, भात नपकाएको, लुगा नधोएको जस्ता जे जे आरोप लगाएर हिंसा गरेको भए पनि यी सबै गुनासा केबल शारीरिक आवश्यकतासँग मात्र सम्बन्धित छन् । यिनै शारीरिक आवश्यकता पूरा गर्न मान्छे शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र वैचारिक हिंसा गर्न तम्तयार छ । आफ्नो यौन तृप्तिका लागि, आफ्नो पेट भर्नका लागि व्यक्ति अर्को व्यक्तिको शरीर र भावनामा हिंसा गर्छ । योभन्दा तल्लोस्तरको चेतना अर्को हुनै सक्दैन् ।
चौरासी लाख योनिमा भौतारिएको आत्माले ब्रम्हाण्डीय रहस्य बुझेर अस्तित्व बोध गरी परम् सुखको मार्गमा लागोस् भनी प्राप्त मानव जीवनमा पनि जसले भौतिक सुखलाई मात्र सबथोक ठान्दछ, आफ्नो सुख सुविधा र स्वादलाई केन्द्रबिन्दुमा राखेर शरीर सुखको लागि मात्र भौतारिन्छ त्यसले पुनः मुढ योनिमा फर्किनुपर्ने कुरा गीतामै लेखेको छ । प्रकृतिले प्रदान गरेको अमूल्य उपहार स्वरुपको यो जीवनलाई पुनः पशुवत् नै बनाउने कि वर्तमानभन्दा उन्नत बनाउँदै अगाडि बढ्ने कुरा आध्यात्मिक चेतनामा निर्भर रहन्छ ।
आध्यात्मिक चेतना बढ्दै जाँदा मान्छेभित्रका अहंकार, कुण्ठा, निराशा घट्दै जान्छ भने शान्ति, प्रेम, करुणा, प्रस्नन्ता बढ्दै जान्छ । सुख र खुसी बाहिरी जगतमा छैन, आफैंभित्र छ । नजिकको सम्बन्धमा जोडिए पनि हामी प्रत्येक व्यक्तिको अस्तित्व र भूमिका फरक छ भन्ने बोध हुँदै गएपछि एकअर्काप्रतिको अपेक्षा र नियन्त्रण स्वाभाविक रुपमा कम हुँदै जान्छ । शारीरिक आवश्यकताहरू गौण हुँदै जान्छन् । दृष्टि, जागृति, कर्म, सम्बन्ध, वाणी, संकल्प र स्वीकार सम्यक हुँदै जान्छन् । जसले महिलाबिरुद्धका घरेलु हिंसा पक्कै पनि कम गर्छ ।
सरकारका नीतिहरूको कुशल कार्यान्वयन, समाजको लैङ्गिक संरचना फेरबदलमा सरकारको प्रत्यक्ष हस्तक्षेपकका अतिरिक्त आध्यात्मिक जागरण, शरीरमा ऊर्जा केन्द्रको जानकारी र तीनको सक्रियताका लागि आध्यात्मिक साधना र हरेक व्यक्तिको सहअस्तित्वप्रतिको समभावको बोध नै महिला हिंसा निवारणको उपाय हो ।
लेखक सामाजिक सुरक्षा कोषका निर्देशक हुनुहुन्छ
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
