• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

‘लहरे सर्प’को नयाँ प्रजाति शुक्लाफाँटामा


  • नारायण ढुङ्गाना
  • आइतवार, बैशाख १४, २०७७
  • 13.6K
    SHARES

काठमाडौं । नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीय वासिन्दाले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलोपटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदी, कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईसहितको टोलीले उक्त सर्पको पहिचान गरेको हो । विश्वमा जम्मा १० प्रजातिका लहरे सर्प पाइन्छन् ।

उक्त सर्प सुरुमा रेञ्जर रावतले फेला पार्नुभएको थियो । उक्त टोलीले त्यसपछि सर्पको नयाँ प्रजाति पुष्टि गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख पौडेलले दुई वर्षदेखि सरिसृप र उभयचरको अध्ययनका क्रममा यसरी नयाँ प्रजातिको सर्प फेला परेको जानकारी दिनुभयो । उक्त प्रजाति नेपालबाहेक भारतमा मात्र फेला परेको छ । उहाँका अनुसार शुल्लाफाँटाका लागि योसहित ११ सर्प, चार भ्यागुता, एक कछुवा, एक छेपारो र एक भालेमुङ्ग्रो नयाँ फेला परेको छ ।

यो प्रजाति सन् २०१९ मा विश्वमै पहिलोपटक भारतको उडिसा र राजस्थानमा फेला परेको थियो । दोस्रोपटक भारतकै गुजरात भेटिएको थियो । लहरे सर्प लौकाको सुकेको डाँठ जस्तो देखिन्छ । यो सर्पको वैज्ञानिक नाम अहेतुल्ला लौडाँकिया भनेर नामकरण गरिएको छ ।

नेपालमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेला परेको यो प्रजाति पुनः बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि भेटिएको थियो । पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको पटना ताल र लामीताल क्षेत्रमा समेत फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो । दिउँसोमा सक्रिय हुने, रुख लहरा तथा अग्ला खर घारीमा बस्ने र सुकेको लहराको डाँठ जस्तो शरीरको रङ खैरो हुने भएकाले यो सर्प सजिलै ठम्याउन गाह्रो हुने भट्टराईको भनाइ छ ।

लहरे सर्प अहिलेसम्म तराईका तीन राष्ट्रिय निकुञ्जमा पाँचवटा मात्र भेटिएको छन् । स्थानीयवासीले यसलाई सुगा सर्प वा उडुवा सर्प आदि नामले चिन्छन् । सर्पमा मध्यम खालको विष भए पनि टोकाइबाट मानिसको ज्यान जाने अवस्था नरहने जनाइएको छ ।

हालै भेटिएको लहरे सर्पसहित नेपालमा ८३ प्रजातिका सर्प फेला परेका छन् । जसमध्ये १७ वटा सर्प बढी विषालु हुने हुनाले त्यसले टोकेमा मानिसको ज्यान जान सक्छ । विषालु सर्प करेत कोब्राको अगाडि दाँत हुन्छ । यसको पछाडि दाँत हुने भएकाले अलि कम विषालुमा पर्ने सर्प विज्ञ शाहको भनाइ छ । उहाँका अनुसार यो तराईमा पाइने सर्प भएको राससमा उल्लेख छ ।

प्रतिक्रिया