बाग्लुङ । राजु हमाल लकडाउन सुरु भएपछि घर फर्किनुभएको छ । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता यतिका धेरै समय बस्ने गरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उहाँको घरछेउको बारी कोतर्ने कोही थिएनन् । न त घरमा खेती गरेर खानसक्ने कोही बस्थे ।
राजु बजार झरेसँगै घर छेउको बारी बाँझियो, जङ्गली जनावरको बासस्थानजस्तै रूप झाडीले बदल्यो । लकडाउनको पालना गर्न घर पुग्नुभएका उहाँले सात वर्षपछि अहिले बारी खनजोत गर्नुभयो । झाडीमा बदलिएको बारीले लकडाउनकै कारण सुसार पायो ।
घर छेउमा रहेको सात रोपनी बारीमा उहाँले अहिले मकै लगाउनुभएको छ। ‘घर बस्न नपाएर बाँझिएको बारीमा चितुवा नै बस्छ जस्तो थियो,’ हमालले भन्नुभयोे, ‘यसपालि फुर्सदमा घर बसियो, सबै फाँडेर मकै रोपेँ ।’ उहाँले अब बारी बाँझो नराख्ने सोच बनाउनुभएको छ । झाडीले पुरेको बारी खनजोत नभएकै कारण अनकन्टार बन्दै थियो ।
प्रविधिले उहाँलाई साथ दियो र मिनिपावर ट्रिलरले बारी कोतर्नुभयो । ‘गोरु नपाइने, जोत्ने मान्छे पनि नहुने,’ उहाँले भन्नुभयो, ‘अब त मेशसनले जोतेरै भए पनि खेती गर्छु ।’
हमालले जस्तै बागलुङका धेरै गाउँमा युवाले लकडाउनको समयको सदुपयोग गर्दै बाँझो जोतेर खेती गरेका छन् । जिल्लाकै जैमिनी नगरपालिका–१ कुश्मीशेरामा लकडाउनकै समयमा एक हजार केराका बिरुवा लगाइएको छ । केरा पकेट क्षेत्र घोषण भएको वडामा रहेका बाँझो जमिनमा केराका बिरुवा लगाइएको हो ।
लकडाउनमा बाहिरबाट गाउँ फर्केका युवाले केरा लगाउन घरमा भएका आफन्तलाई सघाइरहेका छन् । पकेट क्षेत्र भएकाले केराका बिरुवा त रोपिन्थे नै तर लकडाउनमा घर फर्केका युवाका कारण खाडल बनाउने, मल दिने र बिरुवा लगाउने काममा सहज भएको स्थानीय किसान भीम शर्माले बताउनुभयो ।
जैमिनीमा केराका बिरुवा लगाउन कृषि प्राविधिक पनि खटिएका छन् । ‘लकडाउनको पालना गर्दै कृषि कर्म गर्न सकिन्छ भनेर सबै किसानालाई उत्साहित बनाइरहेका छौँ,’ नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले भन्नुभयो, ‘हामीले बारीमै पुगेर सल्लाह दिएका छौँ, उहाँहरु सामाजिक दूरी कायम राखेर काम गरिरहनु भएको छ ।’
बाँझो रहेको जमिन र खाद्यान्न बाली कम उत्पादन हुने क्षेत्रमा केरा लगाउन सल्लाह दिइएको शर्माले राससलाई बताउनुभयो । साविकको कुश्मीशेरा गाविसका १, २, ३ का किसानले धान फल्ने खेतमा समेत केरा लगाएका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
